नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीकाे नयाँ नेतृत्व चयनका लागि मतदानकाे समय फेरि सरेकाे छ । सहमतिमा नेतृत्व चयन गर्ने भन्दै पटक–पटक निर्वाचन कार्यतालिका संशोधन गरेको एमालेले भाेलि शुक्रवार बिहान ८ बजेदेखि मतदान हुने जनाएकाे छ ।
एमाले स्थायी कमिटी सदस्य एवम् निर्वाचन अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले आज बिहीवार बेलुकी ८ बजेसम्म उम्मेदवारी फिर्ता गराउने र सहमतिको प्रयास गरिरहने जानकारी दिनुभयो । नयाँ कार्यतालिकाअनुसार आज बेलुका ९ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरी समय हेरफेर भएको छ । भाेलि बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा मतदान हुनेछ । बाग्मती प्रदेश अध्यक्षका लागि कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, सानु श्रेष्ठ र केशवबहादुर बुढाथोकीले उम्मेदवारी दिएका छन् ।