file photo

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का सांसद तथा एमाले सचेतक महेश कुमार बर्तौलाले शिक्षकहरुले उठाएको न्यायोचित मागलाई सरकारले पुरा गर्नुपर्ने बताउनु भएको छ । संसदमा दर्ता भएको शिक्षा विधयेक २०८० का सन्दर्भमा नेपाल शिक्षक महासंघले आन्दोलन मार्फत उठाएका अधिकांश मागहरु समग्र सार्वजनिक शिक्षा प्रति नागरिकको भरोसा, बिश्वस्नियता र गुणस्तरीयता वृद्धि गर्न तथा शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन उपयुक्त रहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘एउटा सांसद हुँदाको नाताले बिधयेक भित्र बसेर उपयुुक्त कानुन निर्माणको प्रक्रियामा सक्रिय सहभागी हुने र भुमिका निर्वाह गर्ने विषय त बाकी छदैछ तर पनि नेपाल शिक्षक महासंघले उठाएका मागहरुलाई बिधयेकको अंग बनाएर अगाडि बढ्न सरकार तयार हुनुपर्दछ र त्यसको लागी सरकारले आज नै प्रतिबद्धता व्यक्त गर्नुपर्दछ भन्ने माग पनि गर्न चाहन्छु ।’
शिक्षकहरुले उठाउनुभएको संविधानसँग जोडिएका कतिपय बिसयबस्तुहरुले भने थप छलफल र बहसको आवस्यकता महशुस गरेको उहाँले बताउनुभयो । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले निजामती सेवामा जस्तै शिक्षक सेवामा पनि समान सेवा सुबिधाको व्यवस्था हुनुपर्ने बताउनुभयो ।
शिक्षकले पाउने उपचार खर्चलाई निरन्तरता दिनुपर्ने, शिक्षकलाई बर्षमा कम्तिमा एक पटक शैक्षिक अवलोकन भ्रमणको ब्यवस्था हुनुपर्ने, योग्यता बढाउन शिक्षकहरुलाई अध्ययन बिदाको सुबिधा हुनुपर्ने, शिक्षकहरुलाई सरकारी मर्यादाक्रममा समाबेश गरिनुपर्ने , शिक्षकहरुको लागि अलग्गै शिक्षक अस्पतालको स्थापना हुनुपर्ने उहाँले बताउनुभयो ।
शिक्षकको योग्यता आधारभूत र माध्यमिकका लागि क्रमशः स्नातक र स्नातकोत्तर तोक्ने हो भने आधारभूत तृतीय लाई अधिकृत र माध्यमिक तृतीय लाई उपसचिव समान सेवा सुबिधा हुनुपर्ने, स्थायी शिक्षकलाई नियमित रूपमा तह रश्रेणी बढुवाको सुनिश्चितता गरिनुपर्ने, आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवाको लागि प्रत्येक तह र श्रेणीमा ५ वर्षे सेवा अवधी तोक्नु पर्ने, विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई कम्तीमा १ पटकको लागि खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट स्थायी हुने अवसर प्रदान गर्नुपर्ने र उपदानको व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो । नेपाल शिक्षक महासंघको मागहरू उपयुक्त, जायज र न्याय संगत रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘यी मागहरूले शिक्षकहरुको मात्रै हित गर्दैन यसले त समग्र सार्वजनिक शिक्षा कै उज्यालो भविस्यका लागि नयाँ आयाम निर्माण गर्ने छ । त्यसैले नेपाल शिक्षक महासंघको आन्दोलन र उहाँ द्वारा उठाइएका मागहरु प्रति समर्थन त एक्यवद्धता रहेको छ । अत्यमा विद्यार्थीहरुको पढ्न पाउने अधिकार प्रति पनि नेपाल शिक्षक महासंघले ध्यान पुर्याओस भन्ने आग्रह गर्दै बार्ता लाई तत्काल आरम्भ गरि समस्या समाधान गर्न समेत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।