मकवानपुर– मदन भण्डारी फाउण्डेशन मकवानपुरले सञ्चालनमा ल्याएको खाद्य आदान प्रदान अभियान अन्तरगत बिहीबार ५० परिवारलाई सहयोग उपलब्ध गराईएको छ । फाउण्डेसनले हेटौंडा–४ स्थित अटोल्याण्ड चोक (कपुर कम्प्लेक्स) अगाडि सञ्चालन गरेको अभियान अन्तरगत आज चौथो दिन ५० परिवारलाई खाद्यान्न उपलब्ध गराईएको हो ।
फाउण्डेसनले दैनिक बिहान ७ बजेदेखि खाद्य आदान प्रदान कार्यक्रम संचालन गर्ने गरेको छ । खाद्य आदान प्रदान कार्यक्रम अन्तरगत त्यस्ता व्यक्तिहरुलाई दाल, चामल, नुन, तेल, लगायतका खाद्यान्न सामग्री सहयोग गर्ने गरिएको छ । कोरोना महामारीका कारण दैनिक गुजारा चलाउन नसकेर अप्ठ्यारोमा परेका श्रमजिवी तथा विपन्न परिवारलाई लक्षित गरेर सञ्चालन गरेको खाद्य आदान प्रदान अभियानमा बिहीबार विभिन्न व्यक्ति एवम् संघ संस्थाले सहयोग समेत उपलब्ध गराएका छन् । यसअघि गत सोमबार सुरु अभियान मार्फत पहिलो दिन २५ जना, मंगलबार ५३ जना, बुधबार ७१ जना र आज ५० जनालाई खाद्यान्न उपलब्ध गराईएको अभियानका संयाेजक उत्तम शर्मा न्याैपानेले जानकारी दिनुभयाे ।