हेटाैंडा– आज थप एक हजार दुई सय २८ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आज १३ हजार चार सय १३ वटा नमुनाको रियल टाइम पिसिआर परीक्षण गर्दा तीन सय ९४ जना महिला र आठ सय ३४ जना पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले दिनुभएको जानकारी अनुसार आज देश भरमा गरी १८ हजार चार सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितहरू मध्ये १० हजार छ सय ७१ जना संस्थागत आइसोलेसनमा र सात हजार सात सय ४२ जना होम आइसोलेसनमा रहेका छन् । सक्रिय सङ्क्रमित हरू मध्ये कडा लक्षण देखिएका एक सय ४१ जनाको आइसियु र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता प्राध्यापक डाक्टर गौतमले जानकारी दिनुभयो ।
यसै गरी आज थप नौ सय १७ जना संक्रमण मुक्त भएसँगै हालसम्म २४ हजार २ सय सात जना कोरोना संक्रमण मुक्त भएका छन् । हालसम्म ५६ प्रतिशत सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै आज थप छ जनाको मृत्यु भएपछि कोरोना संक्रमण पछि मृत्यु हुनेको सङ्ख्या दुई सय ५७ पुगेको छ । आज चितवन, भक्तपुर, तनहुँ र रुपन्देहीका एकरएक जना महिला तथा सिन्धुपाल्चोक र रुपन्देहीका एकरएक जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमले केही अस्पतालमा बिरामीलाई भर्ना नलिएको तथा परीक्षणका लागि स्वव सङ्कलन नै नगरिएका व्यक्तिको समेत रिपोर्टमा नाम समावेश भएको भन्न समाचारका सम्बन्धमा मन्त्रालयले आवश्यक अनुसन्धान गरिरहेको बताउनुभयो । प्रवक्ता प्राध्यापक डाक्टर गौतमले कोरोना भाइरसको असर एवं पिसिआर परीक्षणको विश्वसनीयतामाथि प्रश्न उठाउँदै फैलाइएको भ्रममा नपर्न र जनस्वास्थ्य सुरक्षाका उपायहरू पालना गर्न आग्रह गर्नुभयो ।