मकवानपुर । बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि एक हजार ५९५ वटा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । आइतबार बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार ५९५ दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा बसेको बैठकले दुई कर्मचारीलाई ११औँ तह (प्रदेश सचिव)मा बढुवा गर्ने समेत निर्णय गरेको छ । स्वास्थ्य सेवातर्फ नारायणबहादुर कार्की र इन्जिनियर सेवातर्फ लोकनाथ रेग्मीलाई ११औँ तहमा बढुवा गर्ने निर्णय भएको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो । यस्तै बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।