प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफलमा भाग लिनुहुने सांसदहरुले बजेटमाथि मिश्रित धारणा राख्नुभएको छ ।छलफलमा सांसदहरुले देशको आर्थिक अवस्थामा सुधार गर्न देशको पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्च घटाउने प्रयत्न सहितको बजेट आउनु सकारात्मक भएको बताउनुभयो ।
सांसदहरुले पुँजीगत खर्च गर्ने कार्ययोजना सहितको बजेट ल्याएको, प्रभावकारी अनुगमन संयन्त्र सहितको प्रतिबद्धता सकारात्मक रहेको भन्दै त्यसको कार्यान्वयनमा जोड दिनुभयो । सांसदहरुले सबै क्षेत्रको समान रुपमा विकास र पुँजी निर्माण गर्ने महत्वपूर्ण योजनाहरूमा बजेट थप गर्नु पर्नेमा जोड दिनुभयो ।
सांसदहरुले बजेट नागरिकले अपनत्व ग्रहण गर्ने, नेपाली उत्पादन र उत्पादकत्व बढाउने, आर्थिक मन्दीबाट राज्यलाई जोगाउने र आयात न्युनिकरण गर्ने तर्फ बजेटले विशेष ध्यान दिनु पर्ने बताउनुभयो ।
यस्तै बैठकमा सांसदहरुले स्थानीय तहको वित्तीय हस्तान्तरण प्रभावकारी रुपमा हुनु पर्ने, सन्तुलित र समावेशी रुपमा मुलुकको विकास गर्ने र विकास निर्माणमा विभेद नहुने गरी बजेटलाई सच्चाउन गर्न आग्रह गर्नुभयो ।
सांसदहरुले सन्तुलित रुपमा बजेट आउनु पर्ने, जनताले उपयोग गर्ने बस्तुमा कर घटाउनु पर्ने, उद्योग व्यवसायको समस्या समाधान गर्ने, बैङ्क ब्याजदरमा रहेको समस्या हल गर्ने तर्फ पनि बजेटले ध्यान दिनु पर्ने धारणा राख्नुभयो ।
यस्तै सांसदहरुले सङ्घीयताको जगलाई मजबुत बनाउने तथा वित्तीय सङ्घीयतालाई बलियो बनाउने तर्फ बजेटले ध्यान दिन नसकेको र सन्तुलित रुपमा बजेट व्यवस्थापन हुन नसकेको पनि बताउनुभयो । सांसदहरुले सार्वजनिक सेवा प्रवाहमा प्रशासनिक झन्झट र बिचौलियाको अन्त्य गर्ने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिनुभयो ।
यसअघि प्रतिनिधि सभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले नागरिकता विधेयक, सडकलगायत पूर्वाधार निर्माणमा भइरहेको ढिलासुस्ती, मल तथा बिउ बिजनमा देखिएको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरुले जातीय छुवाछुत दण्डनीय भए पनि यो विभेद् अन्त्य हुन नसकेको, गर्मी बढ्दा मधेशमा जनजीवन प्रभावित भएको लगायतका विषयमा सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
शून्य समयमा सांसदहरुले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा खानी उत्खनन गर्ने विषय राखेको भए पनि त्यसलाई कार्यान्वयनका लागि पूर्वाधार निर्माणमा ध्यान पु¥याउन नसकेको बताउनुभयो । सांसदहरुले सवारी दुर्घटना बढ्न थालेकाले, सडक सुरक्षामा ध्यान दिन नसकेको भन्दै सडक सुरक्षाको मापदण्ड पूरा नभएको विषयमा सरकार गम्भीर बन्नु पर्ने बताउनुभयो ।
सांसदहरुले वर्षेबाली लगाउने बेलामा किसानले मलखाद र बिउबिजन पाउन नसकेको, भारतसँगको सीमा नाकाबाट मल तथा बिउबिजन चोरी निकासी हुने गरेको र सरकारका सम्बन्धित निकायले यो विषयलाई ध्यान पुर्याउन नसकेको तर्फको सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले निर्वाचन आयोगको भूमिका खुम्चिने गरी बजेटमा व्यवस्था भएकोमा त्यसलाई सच्याउनुपर्ने भन्दै निर्वाचन आयोग जस्तो संवैधानिक निकायका जिल्ला कार्यालय खारेज गरिनु अनुपयुक्त हुने बताउनुभयो । सांसदहरुले पुँजीगत खर्च घट्दै जानु चिन्ताको विषय भएकाले यो बढाउने गरी सोच्नु पर्नेमा जोड दिनुभयो । प्रतिनिधि सभाको अर्को बैठक भोलि जेठ २५ गते बिहान ११ बजे बस्नेछ ।