मकवानपुर । मकवानपुर प्रहरीले करीब आधि किलो अवैध सुनसहित आज एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पूर्व–पश्चिम सडकखण्डअन्तर्गत हेटौँडा–१५ रातोमाटेबाट अवैध सुनसहित पर्साको वीरगञ्ज महानगरपालिका–१ बस्ने ३५ वर्षीय प्रभु साह सोनारलाई पक्राउ गरेको हो ।
उनलाई विशेष सूचनाका आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले करीब ४७ लाख ३६ हजार ७२९ बराबरको ४८९ ग्राम ३७ मिलीग्राम सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना १ ज ७४९० नम्बरको यात्रुवाहक सुमोलाई रोकी जाँच गर्ने क्रममा उक्त सुमोमा सवार सोनारको साथबाट सो परिमाणको सुन बरामद गरिएको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।