मकवानपुर । मकवानपुरमा बिहीबार एकै स्थानमा विभिन्न २७ प्रजातिको विरुवा रोपेर नक्षत्र बाटिका स्थापना गरिएको छ । डिभिजन वन कार्यालय राप्ती मनहरीले जिल्लाको भीमफेदी गाउँपालिका–१, स्थित दरबारडाँडा सामुदायिक वनमा एक कार्यक्रमकाबीच एकै स्थानमा बिभिन्न २७ प्रजातिका विरुवा रोपेर नक्षत्र बाटिका स्थापना गरेको हो ।
पूर्वीय दर्शन अनुसार ग्रह, नक्षत्रको सन्तुलन बिरुवाद्वारा हुने हुँदा २७ नक्षत्र अनुसारको २७ प्रजातिका विरुवा रोपिएको डिभिजन वन कार्यालय राप्तीका डिभिजनल वन अधिकृत बिष्णु प्रसाद आचार्यले बताउनुभयो । बाटिकामा २७ नक्षत्र अनुसारको अमला, समि, जामुन, आँक, बाँस, मौलश्री, रिठ्ठा, पलाँस, डुम्री, सिसौ, पिपल, नागकेशरी, बर, बेल, अर्जुन, कंकेरो, सिमल, राजबृक्ष, कटहर, कदम, आँप, नीम, केरा, महुवा, खयर, लहरे पिपल र वेत गरि २७ प्रजातिका बिरुवा रोपिएको उहाँले बताउनुभयो । वनजंगलको संरक्षण एवम् प्राकृतिक र सास्कृतिक हिसावले महत्वपूर्ण हुने भएकाले जिल्लामै नयाँ प्रयोग गरेको उहाँले बताउनुभयो । नक्षत्र बाटिका प्रकृति र संस्कृतिको समायोजन हुने उहाँको भनाई छ ।
“नेपाल प्रकृति र संस्कृतिमा धनी देश हो भन्ने कुरा हामीले धेरै पहिलेदेखि नै सुन्दै र भन्दै आएका छौं । नेपालमा जस्तो विविध संस्कृति र प्रकृति दुनियाँमा कमै देशमा पाईन्छ र यो हाम्रो लागि निकै गर्भको कुरा हो ।” तर, यसको संरक्षण र प्रबद्र्धन गर्ने कुरामा पछिल्लो समय निकै कमी आएको छ । त्यसैले प्रकृतिको प्राकृतिकता जोगाउन र संस्कृतिको मौलिकता जोगाउने उदेश्यका साथ नक्षत्र बाटिका स्थापना गरिएको हो ।” उहाँले भन्नुभयो ।
