हेटौंडा – हेटौंडाको उमेदवार टुङ्गो लगाउन नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौंडा उपमहानगरपालिका कमिटीको बैठक आज बस्दै छ । बैठक हेटौंडा–८ कमानेमा बस्न लागेको हो ।
आजको बैठकबाट सकेसम्म हेटौंडामा मेयर र उपमेयरको उमेदवार टुङ्गो लगाईने बताईएको छ । सकेसम्म मेयर र उपमेयरका लागि सर्वसहमतीका आधारमा टुङ्गो लगाउने तयारी रहेको र सहमती नभएमा मतदानको प्रक्रियाबाट उमेदवारको टुङ्गो लगाउने नगरकमिटीका एक नेताले बताउनुभयो । हेटौंडाको मेयरको लागि सात जनाले आकांक्षा व्यक्त गर्नुभएको छ, भने उपमेयरमा पाँच जनाले उमेदवार बन्ने इच्छा व्यक्त गर्नुभएको छ ।
हेटौंडा उपमहानगरपालिकाको मेयरका लागि नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना, संबिधानसभाका सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हालका मेयर हरि बहादुर महत, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्यहरु मदन कुमार दाहाल र धुर्व प्रसाद चौलागाईले इच्छा व्यक्त गर्नु भएको छ ।
त्यसैगरी उपमेयरमा अनेम संघ जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, एमाले मकवानपुरकी उपसचिव सिता बिष्ठ, जिल्ला सदस्य प्रतिमा श्रेष्ठ, आरती पाठक, मेनुका दाहाल लगायतकाले इच्छा ब्यक्त गर्नु भएको छ । मेयर र उपमेयरका उमेदवारहरु एकले अर्कालाई छोड्ने पक्षमा देखिएका छ्रैनन् । नेताहरु भने सर्बसहमती गर्ने पक्षमा लागेका छन् । नेताहरु आफैपनि उमेदवार भएकाले सहमती भइहाल्ने अवस्था पनि नरहेको नगरकमिटीका एक नेताले बताए । एकले अर्कालाई समर्थन पनि नगर्ने र अन्तीममा कुनै विकल्प नभएमा मात्र भोली या पर्सी मात्र चुनाब गर्ने योजनामा रहेका छन् ।