file photo

मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ । प्रदेशसभाको बिहीबारको बैठकमा बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्नु भएको हो ।
काठमाडौंमा गत सोमबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले प्रितम सिंहको प्रशंसा गर्दै आफूलाई प्रधानमन्त्री बनाउन दिल्लीसम्म पुगेको अभिव्यक्ति दिनुभएको थियो । सो अभिव्यक्ति प्रति आपत्ति जनाउँदै थपलियाले प्रधानमन्त्रीको राजीनामा माग गर्नु भएको हो । “नेपालको प्रधानमन्त्री नेपालले बनाउने हो कि भारतले हो ?” भनेर थपलियाले प्रश्नसमेत उठाउनु भएको थियो । यस्तै, बैठकमा सत्ता पक्षका मुख्य सचेतक रत्न प्रसाद ढकालले थपालियाले संसदीय प्रक्रिया विपरीत अभिव्यक्ति दिएको बताउनुभयो ।