मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०८०÷०८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेश सभाको आज (बिहीबार) को बैठकले आगामी आवको बजेट बहुमतले पारित गरेको हो ।
बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको असहमतिका बीच सत्तारुढ दलको बहुमत सदस्यहरुको समर्थनमा सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक बहुमतले पारित भएको छ । बजेटमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलगायत प्रतिपक्षी राप्रपा र नेकपाका ४३ सांसदहरु विपक्षमा रहनुभएको थियो । भने, सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीका ६७ जना सांसदहरु बजेटको पक्षमा रहनु भएको थियो ।
बागमती प्रदेश सरकारले गत असार १ गते ६२ अर्ब ७० करोड ९० लाखको बजेट प्रस्तुत गरेको थियो । प्रदेशसभामा गत असार १२ गतेदेखि बजेटमाथि छलफल सुरु गरिए पनि प्रतिपक्षको अबरुद्धका कारण १७ गतेबाटमात्रै छलफल सुरु भएको थियो । बजेटमाथिको छलफलमा ५४ जना प्रदेशसभाका सासंदले भाग लिनुएको थियो । भने, ९ जना सासंदहरुले बजेटमाथि संसोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । बजेटमाथि उठेका सबै प्रश्नको विषयगत मन्त्रीहरु र मुख्यमन्त्रीले हिजो र आज जवाफ दिनु भएको थियो ।