काठमाण्डौं– संबैधानिक परिषदले संबैधानिक आयोगहरुमा रिक्त सबै पदहरुमा नियुक्तिका लागि सिफारिश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको बैठकले अखितयार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको आयुक्त पदहरुमा डाक्टर हरि पौडेल–बाग्लुङ र डाक्टर सुमित्रा श्रेष्ठ व्यांजु– ललितपुरलाई नियुक्त गर्न सिफरिश गरेको हो ।
संबैधानिक परिषदका सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिनाले दिनुभएको जानकारी अनुसार संबैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा झापाका माधब रेग्मी र सदस्यहरुमा कपिलबस्तुका माधब बेल्वासे, इलामका बीरबहादुर राई, ललितपुरका दिनेश सिलवाल र महोत्तरीका मञ्जुकुमारीलाई सिफारिश गरेको छ । यसैगरी, निर्वाचन आयोगमा रुपन्देहीका सगुन शमसेर जबरा, प्राकृतिक स्रोत तथा बित्त आयोगमा पाँचथरका बिपिनराज निरौला र धनुषाका सुधा कुमारी झालाई संबैधानिक परिषदले नियुुक्तिका लागि सिफारिश गरेको छ । त्यस्तै, राष्ट्रिय महिला आयोगमा रिक्त सदस्य पदमा धनुषाका जया घिमिरे र पर्वतका साबित्रा कुमारी तिवारीलाई सिफारिश गरिएको छ ।
यसैगरी संबैधानिक परिषदले दलित आयोगमा काठमाण्डौका सुन्दर पुर्कोटी, राष्ट्रिय समाबेशी आयोगको अध्यक्षमा काश्कीका डाक्टर रामकृष्ण तिम्लिसिना तथा सदस्यहरुमा पर्वतका पुष्पराज तिम्लिसिना र बझाङका मानप्रसाद खत्रीलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ । त्यस्तै,आदिबासी जनजाति आयोगमा खोटाङका सूर्यबहादुर गुरुङ, मधेसी आयोगमा सप्तरीका आभा कुमारी, थारु आयोगमा नवलपरासी पश्चिमका उमाशंकर चौधरी र मुस्लिम आयोगमा सर्लाहीका मोहम्मद समसुल हकलाई नियुक्तिका लागि संबैधानिक परिषदले सिफारिश गरेको छ ।