मकवानपुर — वागमती प्रदेश लोक सेवा आयोगले पूर्णता पाएको छ । रिक्त २ सदस्य नियुक्त भएपछि आयोगले साेमबार पूर्णता पाएको हो । पूर्वसहसचिव सुदर्शन ढकाल र त्रिवि शिक्षण अस्पतालमा अध्यापनरत शर्मिला न्यौपानेले सदस्य पदको सपथ लिएका छन् । 

उनीहरुलाई आयोग अध्यक्ष सुरेन्द्रमान श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए। मुख्यमन्त्री डोरमणि पौडेल, सभामुख सानुकुमार श्रेष्ठ र प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँ रहेको समितिले ढकाल र न्यौपालेलाई सदस्यमा सिफारिस गरेको थियो। यसअघि कात्तिक २९ गते आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त भएका थिए। प्रदेशसभाबाट गत भदौ १४ गते लोकसेवा आयोग गठन सम्बन्धि विधेयक पारित भएको थियो।