मकवानपुरको बिकट कैलाश गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाउँपालिका अध्यक्ष लोकबाहदुर मोक्तानको अध्यक्षतामा आईतबार बसेको बाह्रौं गाउँसभामा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको हो ।
उपाध्यक्ष मल्लले आगामी आर्थिक वर्षका लागि चालु तर्फ ३१ करोड ६० लाख ६८ हजार र पूँजीगत तर्फ १६ करोड ९९ लाख ७ हजार ६८० गरि कुल ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको थियो । पालिकाले चालु आर्थिक वर्ष भन्दा करिब २ करोड ५६ लाख रूपैयाँ कमको बजेट ल्याएको छ । आर्थिक वर्ष २०७९÷८० मा ५१ करोड १५ लाख ९८ हजारको बजेट ल्याएको थियो । प्रस्तुत नीति कार्यक्रम र बजेट गाउँसभाले पारित गरेको हो ।
पालिकाले आर्थिक वर्ष २०८०÷८१ का लागि संघीय सरकारबाट अनुदान मार्फत ३८ करोड २५ लाख १६ हजार ५११ रुपैयाँ र प्रदेशबाट ८ करोड ७२ लाख ५९ हजार १६९ रुपैयाँ प्राप्त भएको छ । यसैगरी आन्तरिक राजश्व, घरजग्गा रजिष्ट्रेसन दस्तुर, दहत्तर बहत्तर कर र अल्या गरि १ करोड ६२ लाख आय रहेको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, भौतिक विकसलाई पथमिकता दिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, उद्यमशीलता, रोजगरी, लगायत समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक लगायतका पक्षहरुलाई महत्व दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोक बिष्टले बताउनुभयो ।