मकवानपुर– बागमती प्रदेशको राजधानी हेटौंडामा रोकिएको कोरोना भाइरस (कोभिड १९) को परिक्षणको काम आजबाट पुन सुरु भएको छ । किटको अभावका कारण रोकिएको कोरोना परिक्षण कार्य आजबाट पुन सुरु भएको हो ।
संघीय सरकारले पीसीआर किट उपलब्ध गराए पछि आजबाट परिक्षण सुरु भएको प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी तथा चिकित्सा विभागका प्रमुख डाक्टर पुरुशोत्तम सेडाईले जानकारी दिनुभयो । हिजो संघीइ सरकार मार्फत हेटौंडाको ल्यावका लागि ४ सय किट प्राप्त भएको उहाँले जानकारी दिनुभयो । संघीय सरकारले बागमती सरकारलाई उपलब्ध गराएको पीसीआर र आरडीटी दुवै किट अभावमा दुईदिन देखि परिक्षण रोकिएको थियो ।
यसअघि संघीय सरकारले पाँच सय पीसीआर किट दिएकोमा सवै किट सकिएर परिक्षण रोकिएको उहाँले जानकारी दिनुभयो । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको पीसीआर मेसिनबाट चैत २७ बाट मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब संकलन गरेर कोरोना परीक्षण गरिँदै आएको छ । यस अघि दुई दिन किट अभाव हुँदा परिक्षणका लागि १० जनाको संकलित स्वाब परिक्षणकालागि काठमान्डौं पठाईएको थियो । बाग्मती प्रदेशमा चितवन, धुलिखेल, टेकु र वीर अस्पतालमा पनि कोरोना परीक्षणको व्यवस्था मिलाइएको छ ।