भरतपुर महानगरपालिकाको नगर सभाले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको दायित्व फरफारक गर्न सरकारबाट प्राप्त सशर्त अनुदान धुर्मुस सुन्तली फाउन्डेसनलाई अनुदानका रूपमा भुक्तानी गर्ने सर्वसम्मत निर्णय गरेको छ । रङ्गशाला निर्माण गर्ने क्रममा धुर्मुस सुन्तली फाउन्डेसनले १८ करोड ४३ लाख रुपैयाँ उधारो तिर्न नसकेपछि काम रोकिएको थियो ।
उधारो तिर्न नसकेपछि फाउन्डेसनले २०७८ साउन २२ गतेबाट काम रोकेर भरतपुर महानगरपालिकालाई स्वामित्व हस्तान्तरणको पत्र पठाएको थियो । गत चैतमा मन्त्रिपरिषद् बैठकले रङ्गशाला निर्माणको स्वामित्व नेपाल सरकारले लिने निर्णय गर्दै हिसाब फरफारक गर्न १२ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत रङ्गशालाका लागि तीन करोड रुपैयाँ विनियोजन गरेको छ ।
मेयर रेनु दाहालले संघीय सरकारले उपलब्ध गराउने भनेको अनुदान रकम महानगरमार्फत अनुदानका रूपमा भुक्तानी गर्ने निर्णय भएको बताइन् । ‘फाउन्डेसनलाई लागेको ऋण कुन प्रक्रियाबाट तिर्ने भन्ने कुराले अन्योल बनाएको थियो। हामीले नगर सभाबाट निर्णय गर्यौँ । मन्त्रिपरिषद्ले निर्णय गरेको १२ करोड रुपैयाँ अब महानगरपालिकामार्फत अनुदान भनेर भुक्तानी हुन्छ, ’उनले भनिन्, ’हामीले पनि यसपालि ३ करोड रुपैयाँ बजेट छुट्ट्याएका छौँ । प्रदेश सरकारले पनि पाँच करोड रुपैयाँ छुट्ट्याएको छ । अब ऋण तिरेर निर्माणको काम अघि बढ्छ ।’ मन्त्रिपरिषद्ले सरकारले स्वामित्व लिने निर्णय गरे पनि कुन तहको सरकारले लिने भन्ने निर्णय नगरेको उनले बताइन्।









