हेटौँडा । मकवानपुर प्रहरीले नेपाल आयल निगमको ट्यांकरबाट डिजेल चोरी गर्दै गरेको अवस्थामा दुईजना पक्राउ गरेको छ । नेपाल आयल निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जबाट बागमती प्रादेशिक कार्यालय काठमाडौं (थानकोट) मा डिजेल लिएर जाँदै गरेको ट्यांकरबाट डिजेल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार दिउँसो हेटौँडा– ९ स्थित नवदुर्गा आयल स्टोरको कम्पाउन्डभित्र ट्यांकर रोकेर तेल चोरी गर्दै गरेको अवस्थामा एक भारतीयसहित दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीका अनुसार डिजेल चोरी गर्नेमा तेल ढुवानीमा प्रयोग भएको ना ७ ख २७९४ नम्बरको तेल ट्यांकरचालक पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका– ११ श्रीपुरका ४९ वर्षीय आलम हवारी र भारत मोतिहारी श्रीरामपुर घर भई हेटौँडा– ९ नवदुर्गा आयल स्टोरमा काम गर्ने ३० वर्षीय वीरेन्द्र साह रहेका छन् । प्रवक्ता भण्डारीले उनीहरूले ट्यांकरबाट करिब ४० लिटर डिजेल निकालेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका दुवैजनालाई तेल ट्यांकरसहित काठमाडौंस्थित थानकोट डिपो पठाईने उहाँले बताउनुभयो ।