नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मङ्गलवार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो ।
चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अङ्कको आवश्यकता रहेको थियो । यस्तोमा थ्री स्टारसँग बराबरीमा रोकिए पनि चर्च ब्वाइज च्याम्पियन बनेको हो । चर्च ब्वाइजले ‘बी’ लिगबाट बढुवा भएकै सिजन ‘ए’ डिभिजन लिगको उपाधि जित्दै मनाङ मर्स्याङ्दी क्लबको नाममा रहेको कीर्तिमानसँग बराबरी गरेको छ ।
मनाङले २०४२ सालमा ‘बी’ लिग र ०४३ सालमा ‘ए’ डिभिजन लिगको उपाधि जितेर कीर्तिमान बनाएको थियो । ३७ वर्षपछि चर्च ब्वाइजले मनाङको कीर्तिमानमा बराबरी गरेको हो । बाल गोपाल महर्जनको नेतृत्वमा रहेको चर्च ब्वाइजले लिगको एक खेल बाँकी रहँदै उपाधिमा कब्जा जमाएको हो ।
नेपाली फुटबलका सर्वाधिक सफल प्रशिक्षक महर्जनले प्रशिक्षकको रुपमा पहिलो पटक ‘ए’ डिभिजन लिगको उपाधि जितेका हुन् । चर्च ब्वाइजको यो १३ औँ जित हो । चर्च ब्वाइज २५ खेलमा ४५ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।
चर्च दोस्रो स्थानको मच्छिन्द्र भन्दा ६ अङ्कले अघि रहेको छ । अब बाँकी दुवै खेल जिते पनि मच्छिन्द्र हेड टु हेडमा पछि पर्नेछ । मच्छिन्द्रले २४ खेलमा ३९ अङ्क जोडेको छ । थ्री स्टार २५ खेलमा २८ अङ्क जोडेर १२ औँ स्थानमा रहेको छ । थ्री स्टारलाई रेलिगेसनबाट जोगिन अन्तिम खेल महत्वपूर्ण रहेको छ ।