मकवानपुर । सहिद सप्ताह २०८० का अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडा–११, स्थित सहिद स्मारकमा कृषि, हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेला आयोजना हुने भएको छ । सहिद स्मारक विकास समिति र हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा आगामी माघ १० देखि १६ गतेसम्म मेला आयोजना हुन लागेको हो ।
सहिद सप्ताह २०८० (माघ १०–१६) को सन्दर्भ पारेर मेला आयोजना गर्न लागिएको सहिद स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले बताउनुभयो । आर्थिक विकासको मुल आधार कृषि, पर्यटन घरेलु उत्पादनको प्रबद्र्धन गर्ने उदेश्यका साथ मेला आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । मेलामा स्थानीय कृषि, घरेलु तथा पर्यटकिय वस्तुहरु मात्र समावेश गराईने उहाँले बताउनुभयो ।
मेला तयारीको विषयमा स्मारक विकास समितिले आज सरोकारवालाहरुसंग छलफल समेत गरेको छ । समितिले मेलामा सहभागिता जनाउन इच्छुक घरेलु वस्तु उत्पादन कर्तालाई आगामी माघ ५ गतेसम्म सहभागिताको लागि निवेदन दिन आव्हान समेत गरेको छ । मेलामा सहभागिता जनाउन सहिद स्मारक विकास समितिकाे कार्यालय वा हस्तकला प्रवर्द्धन केन्द्रमा सम्पर्क राख्न सकिने जनाईएको छ ।