
हेटौंडा । बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री एका लाल श्रेष्ठले शिक्षित समाजबाटै समुन्नत राष्ट्र निर्माण हुने बताउनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज मकवानपुरको आठौं जिल्ला अधिवेशनमा खानेपानी, उर्जा तथा सिँचाई मन्त्री श्रेष्ठले शिक्षित व्यक्तिबाट विभेदपूर्ण व्यवहार नहुने भन्दै सबैले विभेदयुक्त मानसिकता त्याग्नुपर्ने बताउनुभयो ।
अहिलेको व्यवस्थामा कुनैपनि भेदभाव नरहेको बताउदै उहाँले भन्नुभयो–“हामी सबैले लडेर ल्याएको व्यवस्थाले हरेक क्षेत्रमा पछि परिएका वा पछाडि पारिएका जातीलाई समान अधिकार प्रदान गरेको छ । अहिले हरेक क्षेत्रमा अझ स्थानीय तहको वडामा ५ जना निर्वाचित जनप्रतिनिधीमा एक दलीत महिला अनिवार्य व्यवस्था गरेको छ । यो ठुलो उपलब्धी हो ।” उहाँले भन्नुभयो ।
मन्त्री श्रेष्ठले मुलुक समाजवादको बाटोमा अघि बढे मात्र महिला, दलित र गरिबको नाममा हुने विभेदको अन्त्य हुने बताउनुभयो । उहाँले समान सहभागिता र समान पहुँच हुने व्यवस्था ल्याउन नेकपा एमालेले संकल्प बोकेको दाबी गर्नुभयो । मन्त्री श्रेष्ठले समृद्ध नेपाली, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई एमालेले आत्मसात् गरेर अघि बढेको पनि जिकिर गर्नुभयो । शिक्षा, स्वास्थ्य, रोजगार सबैमा समान पहुँचको निम्ति राजनीतिक स्थायित्व जरुरी रहेको मन्त्री श्रेष्ठको भनाई छ । २०८४ सालमा एमालेले एक्लै चुनाव जितेर बहुमतको सरकार बनाउने उहाँले बताउनुभयो ।
मन्त्री श्रेष्ठले अहिलेको व्यवस्थामा जनताले केही पनि पाएन भन्नु उचित नभएको बताउनुभयो । राज्यले दलीत आयोगमार्फत देशका करीब ४० लाख जनसंख्या रहेको दलीत समुदायको उत्थानका लागि हरेक क्षेत्रमा आरक्षणको व्यवस्था गरेको मन्त्री श्रेष्ठले बताउनुभयो ।विगतको समाज र अहिलेको समाजको अवस्था धेरै फरक भएको उहाँको भनाई छ । मन्त्री श्रेष्ठले आजको समाज वैज्ञानिक युगमा परिणत भएको बताउनुभयो । उहाँले वर्तमान संविधानले माथिल्लो निकायदेखि तल्लो निकायसम्म एक जना दलित महिलाको सहभागिता सुनिश्चित गरेको पनि बताउनुभयो ।
नेपाल उत्पाडित जातीय मुक्ति समाज मकवानपुरका अध्यक्ष गोविन्द विश्वकर्माको सभाध्यक्षतामा भएको सम्मेलनमा समाजका केन्द्रिय अध्यक्ष मनोहर पौडेल विश्वकर्मा, नेकपा एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवाली, मुक्ति समाजका केन्द्रिय सदस्य एवम् प्रदेश इन्चार्ज श्यामलाल विश्वकर्मा, नेकपा एमाले मकवानपुरका उपसचिव हिदम लामा लगायतको आतिथ्यता रहेको थियो ।