मकवानपुर, साउन २० । बागमती प्रदेशको नयाँँ बन्ने सरकारमा हालकालागि एमालेबाट ६ र नेपाली कांग्रेसबाट एकजना मात्रै मन्त्री सहभागी हुने भएका छन् । कांग्रेसले भागबण्डामा परेको मुख्यमन्त्रीसहित ८ मन्त्रालयमध्ये तत्कालका लागि धादिङका शिवराज अधिकारीलाई मात्रै मन्त्री पठाउने तयारी गरेको हो ।
अधिकारीलाई कुन मन्त्रालय दिने भन्नेबारे भने पछि निर्णय हुने बताईएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देशकोटाले आजै इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै शपथ ग्रहण गराउने कार्यक्रम तय गर्नु भएको छ । मुख्यमन्त्रीसँगै सात जना मन्त्री पनि आजै नियुक्त हुनुहुने र पद तथा गोपनीयताको शपथ लिनुहुने एमालेका एक सांसदले जानकारी दिनुभयो । कांग्रेसले अन्य मन्त्रालयको जिम्मेवारी भने केही दिनपछि मात्र टुंग्याउने तयारी गरेको छ । कांग्रेसका एक नेताका अनुसार पार्टी सभापतिसँग छलफल गरेर मात्रै बाँकी मन्त्रालयका मन्त्री तोक्ने निर्णय भएको छ ।
एमालेले आफ्नो भागमा परेको ६ वटा मन्त्रालयमा मन्त्री टुंग्याइसकेको छ । एमालेबाट वन तथा वातावरण मन्त्रीमा भरतबहादुर केसी, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मधुसुधन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रीमा डा. दिनेशचन्द्र देवकोटा, श्रम, रोजगार तथा यातायात मन्त्रीमा जयराम थापा, स्वास्थ्य मन्त्रीमा किरण थापा र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीमा बिन्दु श्रेष्ठ लाई सरकारमा पठाउने तयारी गरेको छ । एमालेको अघिल्लो सरकारका स्वास्थ्य मन्त्री किरण थापा फेरि दोहोरिने हुनुभएको छ, भने बाँकी पाँच जना नयाँ अनुहारलाई अवसर दिइने भएको हो । एमालेबाट मन्त्री व्यक्ति टुंगिए पनि मन्त्रालयको बारेमा भने फेरबदल हुन सक्ने उहाँले बताउनुभयो । प्रदेश प्रमुखले मुख्यमन्त्री बानियाँको दिउँसो ४ः१५ बजे पद तथा गोपनीयताको शपथ गराउने तयारी भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।









