कोरोनाको जोखिम कायमै रहेकाले थप सर्तकता अपनाउन आग्रह

मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले समुदायमा कोरोनाको जोखिक कायमै रहेकाले थप सर्तकता अपनाउन आग्रह गर्नुभएको छ । शनिबार हेटौंडा–१८ मा आयोजित कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी सरोकारवालासंगको छलफलमा प्रमुख खुलालले समुदायमा कोरोनाको जोखिम कायमै रहेकाले थप सर्तकता अपनाएर जनजीवन र आर्थिक गतिबिधि सामान्य बनाउन आग्रह गर्नुभयो ।

प्रमुख खुलालले समुदायमा कोरोनाको जोखिम कायमै रहेको भएपनि जनजीवन र आर्थिक गतिबिधि चलायमान बनाउने उदेश्यले सरकारले बजार, पसल, सार्वजनिक गाडी खुलाएको बताउनुभयो । तर, सबैथोक खुल्ला भयो भन्दैमा स्वास्थ्य मापदण्डको पालना नगर्दा थप समस्या सृजना हुने हुँदा स्वास्थ्य मापदण्डहरुको पालना गर्ने र सर्तकता अपनाउने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले समुदायमा संक्रमण फैलन नदिन जनप्रतिनिधि, राजनैतिक दल, टोल विकास संस्था, नागरिक समाजलगायतले महत्वपुर्ण भुमिका निर्वाह गर्नेमा जोड दिनुभयो । उहाँले समुदायमा कोरोना सम्बन्धी भ्रम र यथार्तका बारेमा जनचेतना फैलाउने, कोरोना संक्रमितलाई गरिने दुव्र्यवहारलाई निरुत्साहित गर्ने कार्यममा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागिहरुले कोरोनाका बिचमा नागरिकका अन्य समस्याहरुका बारेमा कसैले ध्यान दिन नसकेको गुनासो गर्नुभएको थियो । उहाँहरुले किशानलाई कोरोनाले भन्दा बारीमा हाल्ने मल नपाएको समस्याका बारेमा ध्यान नदिएको, स्वास्थ्य सामग्रीको अभाव रहेको, हालसम्म कसैले पनि समुदायमा संक्रमण फैलनबाट बच्न हौसला बढाउने खालका गतिविधि नगरेको भन्दै गुनासो गर्नुभएको थियो । उहाँहरुले अहिलेसम्म कुनै पनि राजनैतिक नेतृत्व वा नगरका नेतृत्व समुदायमा अवस्था के छ भनेर जानकारी लिन नआएकोमा गुनासो गर्नुभएको थियो ।
छलफलमा १८ नम्बर वडा अध्यक्ष अनिल बानीयाले पछिल्लो ७ महिनामा कोहि कसैले पनि वडामा आएर हौसला बढाउने काम नगरेको बताउनुभयो । “फोन सम्पर्क गरेरै भएपनि वडामा के छ भनेर सोधेको भए हामीलाई थप हौसला मिल्ने थियो ।” उहाँले भन्नुभयो । हामी दैनिक कोरोना रोकथाममा जनताको नजिक रहेर काम गरिरहेका छौं । तर कतै कहिबाट हौसला नमिल्दा भने निराश भएको उहाँको भनाई थियो । उहाँले हालसम्म आफ्नै तरिकाले कोरोना संक्रमण नियन्त्रणका लागि काम गरिरहेको भन्दै पहिलो पटक जिसस प्रमुख आँफै आउँदा थप हौसला मिलेको बताउनुभयो । थुप्रै कुरामा हामी आँफै पनि जानकार रहेनछौं उक्त कुराहरु बताएर हौसला बढाउनु भएकोमा जिसस प्रमुखलाई धन्यवाद समेत दिनुभयो । उहाँले वडामा हालसम्म २ जनामा संक्रमण पुष्टि भएको र एक जनाको कोरोनाकै कारणले ज्यान गएको बताउनुभयो ।
छलफलमा वडाका राजनैतिक दलका प्रतिनिधिहरु, हर्नामाडी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु, टोल विकास संस्थाका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिको सहभागिता थियो ।