मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले बागमती प्रदेशको राजधानीलाई कस्तो बनाउने भन्ने विषयको परिकल्पना समेत हुननसक्नु दुःखत भएको बताउनुभएको छ । शुक्रबार हेटौंडामा आयोजित योजना तर्जुमा र सुशासन प्रर्वद्वन अभिमुखीकरण तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको कार्यक्रममा मेयर लामाले संघीय राजधानीको समेत राजधानी रहेको हेटौंडाको विकासमा सबैले चासो दिनुपर्ने भन्दै उहाँले राजधानी हेटौंडालाई कस्तो बनाउने भन्ने विषयमा मार्गचित्र बनाएर अगाडी बढ्नु पर्ने बताउनुभयो । “संघीय र प्रदेश सरकारले पनि प्रदेशको राजधानीलाई कस्तो बनाउने भन्ने विषयमा भिजन लिनुपर्र्ने हुन्छ । लुम्बिनी प्रदेशले मार्गचित्र बनाउँदा बागमती प्रदेशले मार्गचित्रको निर्णय समेत लिन सकेको छैन् ।” उहाँले भन्नुभयो ।
मेयर लामाले हेटौंडाको विकासमा २५ मिटर सडक विस्तारले समस्या निम्त्याएको भन्दै समस्या समाधानका लागि सबैले एकिकृत रुपमा पहल गर्नुपर्ने बताउनुभयो । “स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचरीलाई तलब प्रदान गर्नेदेखि २५ मिटर भत्काउने विषयमा समस्या रहेको छ । १० वटै पालिकाको सदरमुकामसंग जिल्ला सदरमुकाम कसरी जोड्ने भन्ने विषयमा स्थानीय तहहरुले सहकार्य गर्नुपर्ने अवस्था छ ।” उहाँले भन्नुभयो । उहाँले जबसम्म २५ मिटर सकड क्लियर हुँदैन तब सम्म अन्य पालिकाहरुमा भएका विकास नदेखिने हुँदा यो समस्या समाधानका लागि सबै पालिकाको संयुक्त पहल गर्नुपर्ने भन्दै यसमा जिल्ला समन्वय समितिलाई समन्वयात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।











