मकवानपुर । मकवानपुरका स्थानीय तहहरुले तीन तहका सरकारबीच सहकार्य हुन नसक्दा समस्या सृजना भएको बताएका छन् । हेटौंडामा शुक्रबार आयोजित स्थानीय सुशासन प्रवद्र्धन र योजना तर्जुमा तथा क्षमता अभिबृद्धि सम्बन्धी अभिमुखिकरण कार्यक्रममा मकवानपुरका स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले तीन तहबीचको सहकार्यको अभावमा समस्या भोग्नु परेको बताएका हुन् ।

जिल्ला समन्वय समिति मकानपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा स्थानीय तहको योजना कार्यान्वनका क्रममा संघ एवम् प्रदेश सरकारसँग भोग्नु परेको समस्या र अपेक्षाका साथै योजना तर्जुमामा बर्तमान समस्या र भाबी योजनाको बारेमा समेत छलफल भएको थियो । कार्यक्रममा स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुले प्रदेश एवम् संघीय सरकारले योजना कार्यान्वयनका क्रममा स्थानीय तहसँग समन्वय नगर्दा थप समस्या भएको साथै स्थानीय तहको मुख्य आम्दानीको स्रोत ढुंगा, गीट्टी, बालुवा सम्बन्धी समस्या, योजना कार्यान्वयन, कानुन निर्माणलगायत विषयमा पनि समन्वय हुन नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले बागमती प्रदेशको राजधानीलाई कस्तो बनाउने भन्ने विषयको परिकल्पना समेत हुननसक्नु दुःखत भएको बताउनुभएको छ । मेयर लामाले संघीय राजधानीको समेत राजधानी रहेको हेटौंडाको विकासमा सबैले चासो दिनुपर्ने भन्दै उहाँले राजधानी हेटौंडालाई कस्तो बनाउने भन्ने विषयमा मार्गचित्र बनाएर अगाडी बढ्नु पर्ने बताउनुभयो । “संघीय र प्रदेश सरकारले पनि प्रदेशको राजधानीलाई कस्तो बनाउने भन्ने विषयमा भिजन लिनुपर्र्ने हुन्छ । लुम्बिनी प्रदेशले मार्गचित्र बनाउँदा बागमती प्रदेशले मार्गचित्रको निर्णय समेत लिन सकेको छैन् ।” उहाँले भन्नुभयो । मेयर लामाले हेटौंडाको विकासमा २५ मिटर सडक विस्तारले समस्या निम्त्याएको भन्दै समस्या समाधानका लागि सबैले एकिकृत रुपमा पहल गर्नुपर्ने बताउनुभयो । “२५ मिटर सडक विस्तारका साथै १० वटै पालिकाको सदरमुकामसंग जिल्ला सदरमुकाम कसरी जोड्ने भन्ने विषयमा स्थानीय तहहरुले सहकार्य गर्नुपर्ने अवस्था छ ।” उहाँले भन्नुभयो । उहाँले जबसम्म २५ मिटर सकड क्लियर हुँदैन तब सम्म अन्य पालिकाहरुमा भएका विकास नदेखिने हुँदा यो समस्या समाधानका लागि सबै पालिकाको संयुक्त पहल गर्नुपर्ने भन्दै यसमा जिल्ला समन्वय समितिलाई समन्वयात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा थाहा नगरपालिकाका मेयर बिष्णु बहादुर बिष्टले सबै भन्दा बढी प्रदेश सरकारको योजना कार्यान्वयमा समस्या रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले योजना कार्यान्वयनका क्रममा पालिकासंग सहकार्य नहुँदा कार्यक्रममा दोहोरोपनाले समस्या भएको बतउनुभयो । उहाँले प्रदेशले साना र दोहोरो हुने गरि कार्यक्रम कार्यन्वयन गर्न नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले ११९ पालिकामा सुचाङ्कको आधारमा योजना जान्छन् । तर कैलाश जस्तो विकट क्षेत्रमा कसरी योजना जान्छन् भन्ने विषयमा प्रदेश सरकारको ध्यानाकर्षण हुन जरुरी रहेको बताउनुभयो । सदरमुकामसँग जोड्ने सडकलाई कालोपत्रे गर्ने विषय आफूले उठान गरिएपनि कुनै सुनुवाई नभएको उहाँको भनाइ छ । नीति कार्यक्रमको कार्यान्वयन छैनन् र सुनुवाई हुने ठाउँ पनि नहुँदा विकराल समस्या लिइरहेको बताउनुभयो । कार्यक्रममा राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले प्रदेश र स्थानीय तहबीच योजनामा दोहोरोपना धेरै रहेको बताउनुभयो । उहाँले विकट क्षेत्रमा कर्मचारी व्यवस्थापन अहिले सबै भन्दा ठुलो समस्या रहेको बताउनुभयो ।

कार्यक्रममा स्थानीय योजना तर्जुमा तथा अन्तर–सरकार योजना समन्वय र अनुकुलनका पाटाका विषयमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा. डा. नरविक्रम थापा, र स्थानीय तहको सुशासन प्रबद्र्धन एवम् सेवा प्रवाह तथा गृह प्रशासनको भुमिकाका विषयमा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले सहजिकरण गर्नुभएको थियो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नीति तथा योजनाका उपाध्यक्ष नरबिक्रम थापा, जिल्ला समन्व्य समितिका उपप्रमुख सानुकाजी लुईटेल, हेटौंडा उपमहानगरपालिकाका मेयर मेयर मिना कुमारी लामा, थाहा नगरपालिकाका मेयर बिष्णु बहादुर बिष्टलगायत जिल्लाका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेब पाण्डे, स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, योजनाशाखा अधिकृत लगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता थियो ।