काभ्रेको गौरव १२ वर्षे मकर मेलामा एक पटकमा २५ जना भन्दा बढीले स्नान गर्न नपाइने भएको छ । आज बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डिसिएमसी)ले मेलामा २५ जना भन्दा बढी भेला भई स्नान गर्न नपाइने भन्दै सूचना जारी गरेको छ । काभ्रे लगायत देशभरि नै पछिल्लो समय कोरोना संक्रमित बढेसँगै आज (डिसिएमसी)ले संक्रमण नियन्त्रणका लागि उक्त निर्णय गरी सूचना जारी गरेको हो ।
जिल्लाको १३ वटा स्थानीय तहका सरोकारवाला निकायहरूलाई सार्वजनिक स्थलमा सबै प्रकारका भेला तथा धेरै जना उपस्थित हुने कुनै प्रकारको कार्यक्रमहरू नगर्न, मेला, महोत्सवहरू नगर्न सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ । मकर मेलामा २५ जना भन्दा कम र भिडभाड नहुने गरी स्वास्थ्य सम्बन्धी सम्पूर्ण सुरक्षा मापदण्ड अपनाई भक्तजनहरूलाई मकर स्नान मात्र गर्ने व्यवस्था मिलाउने भएको छ । सो कार्यका लागि सुरक्षा निकाय, पनौती नगरपालिका, मेला आयोजक लगायत सबैसँग समन्वय गरिनेछ ।
यही माघ ७ गतेबाट सार्वजनिक सेवा प्राप्त गर्नका लागि अनिवार्य रुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइल फोटो भएपछि हुने) अनिवार्य साथमा लिएर सेवा लिन आउनु पर्ने साथै सार्वजनिक स्थलहरू (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रङ्गशाला, पार्क आदि) मा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बैठकबाट निर्णय भएको छ । त्यस्तै जिल्ला स्थित धुलिखेल अस्पताल, मंगलटार र दोलालघाट क्षेत्रमा एन्टिजेन टेष्ट बुथ स्थापना गरी निःशुल्क एन्टिजेन परीक्षणका व्यवस्था मिलाइने निर्णय बैठकले गरेको छ ।