नेपाल एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा पुगेको छ । आज मङ्गलवार राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा बङ्गलादेशलाई ३–० को सोझो सेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो । नेपालले पहिलो सेट २५–१०, दोस्रो सेट २५–८ तेस्रो सेट २५– ९ ले जित्यो ।
नेपालले हिजो साेमवार किर्गिस्तानलाई हराएको थियो । नेपालसँगै समूह ‘ए’ बाट भारत पनि अन्तिम चारमा पुगेको छ । भारतले हिजो बङ्गलादेशलाई र आज किर्गिस्तानलाई हराएको हो । आजै भएको दोस्रो खेलमा काजकिस्तानले श्रीलङ्कालाई ३–१ को सेटमा हराएको छ । काजकिस्तानले पनि आज लगातार दोस्रो खेल जितेर सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । आजै बेलुका साढे ६ बजे उज्वेकिस्तान र माल्दिभ्सबीच खेल हुनेछ । प्रतियाेगितामा नेपाल र भारत भोलि बुधवार खेल्नेछन् । भोलि जित्ने टोली समूह विजेता बन्नेछ । प्रतियोगितामा आठ टोली सहभागी छन् । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत, बङ्गलादेश र किर्गिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता आउँदो १४ गतेसम्म चल्नेछ ।