file photo

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्ने बताउनु भएकाे छ । बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएकाे हाे ।
उहाँले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गर्नुभयाे । श्रेष्ठले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताउनुभयाे ।
श्रेष्ठले खाडीमा काम गर्न गएका ३० लाख नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न भ्रष्टाचारीलाई कारबाही गर्नुको विकल्प नरहेको बताउनुभयाे । उहाँले निर्दोष मानिस डराउनुपर्ने आवश्यकता नरहेको पनि उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘हाम्रो देशमा अरू थुप्रै समस्याहरू छन् । कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको छ । कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ र सामाजिक आर्थिक रूपान्तरणको प्रक्रियालाई तीव्र पार्नुपर्छ । ३० लाख खाडी मुलुकमा भएको नेपाली जनता जो आमाबुवाको काख, बालबच्चाको साथ छोडेर बालबालिकाको जीवन रक्षाका लागि श्रम गरिरहेका छन्, उनीहरूलाई यही भूमिमा काम गर्नका लागि भ्रष्टाचारीमाथि कारबाही गर्नैपर्छ । भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई मूल रूपमा उठाएका छौं । कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने छैनन्, कोही दोषी छुट्ने छैनन् । दोषीलाई जहाँ गए पनि छोड्दैनौं, यो हाम्रो प्रतिवद्धता हो ।’ गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमाथि कारबाहीको मुद्दालाई अहिलेको सरकारले मूल मुद्दा बनाएको बताउनुभयाे ।