मकवानपुर – स्तन क्यान्सर सम्बन्धी सचेतना तथा अन्तरकृया कार्यक्रम बिहीबार हेटौंडामा सम्पन्न भएको छ । जिल्ला स्वास्थ कार्यालय मकवानपुर र नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुरको संयुक्त आयोजनामा हेटौंडाको सिदार्थ मावि, बाल ज्योति मावि र जिएस निकेतन माविमा आज सचेतनामुलक अन्तरकृया कार्यक्रम भएको हो ।
अक्टोबर महिनालाई विश्वव्यापी रूपमा स्तन क्यान्सर विरुद्ध सचेतना अभियानको रूपमा मनाउने क्रममा हेटौंडामा पनि जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो । नेपाल अर्बुद रोग निवारण संस्था मकवानपुरकी अध्यक्ष कपिला जोशीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रमुख अतिथि खुलालले क्यान्सर बारे सचेत हुन आग्रह गर्नुभयो । उहाँले सबै सरोकारवालाहरुले क्यान्सरका बारेमा व्यापक जनचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । उहाँले सचेतना अभियानलाई व्यापक रूपमा फैलाउने हो भने क्यान्सर रोगको भयावह स्थितिलाई कम गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा क्यान्सर लाग्न नदिन अपनाउनु पर्ने उपाय , क्यान्सर लागिसकेपछि ध्यान दिनु पर्ने बिषयहरु, क्यान्सरका लक्षणहरु लगायतका बिषयमा सहभागीहरुलाई बुझाईएको थियो । सचेतना कार्यक्रममा विपी कोईराला क्यान्सर अस्पतालकी क्यान्सर विज्ञ अयोध्या पाठकले उक्त विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा क्यान्सर बिजेता हेटौंडाकी योगा भट्टराईले समयमै क्यान्सर बारे जान्न सके निको हुने हुँदा आफ्ना घर परिवारमा सचेतना अभिबृद्धि गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो अनुभवको बारेमा बताउनु हुँदै समयमै क्यान्सर बारे जानकारी पाएमा उपचारबाट निको हुने बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्याय, नेपाल अर्बुद रोग निवारण संस्था बागमती प्रदेशका संयोजक गणेश कोईराला, उपसभापति माधव अधिकारीलगायत सिदार्थ माविका विद्यार्थिहरुको सहभागिता थियो ।