सरकारले सडक खाद्य वस्तु (स्ट्रिट फुड) प्रिन्टेड पेपरमा प्याक गर्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले स्वास्थ्यका लागि खतरनाक असर पार्ने रसायनहरू प्रिन्टेड पेपरमा हुने भएकाले स्ट्रिट फुड प्याक गर्ने काममा त्यसलाई प्रयोग गर्न प्रतिबन्ध लगाउने गरी कार्यविधि बनाउन सुरु गरेकाे बताउनुभएको हो । आज मङ्गलवारदेखि काठमाण्डाैमा सुरु भएको खाद्य स्वच्छतासम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सस्तो र मिठो हुने भएकाले ‘स्ट्रिट फुड’ को उपयोग बढ्दै गइरहेको उल्लेख गर्दै त्यसमा स्वच्छता ल्याउन सरकारले प्रिन्टेड पेपरको प्रयोगमा प्रतिबन्ध लगाउन चाहेको स्पष्ट पार्नुभयो ।
महानिर्देशक वैद्यले ‘स्ट्रिट फुड’ र तरकारी तथा फलफूल बजारलाई स्वच्छ राख्नका लागि सरकारले जनचेतनामूलक कार्यक्रमलाई पनि पालिकाहरूसँग मिलेर अघि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही सस्तो र मिठो खाजाको रूपमा चाहिँ स्ट्रिट फुड एउटा राम्रो विकल्प हो । सबै जनाले फाइन डाइनिङ मात्रै गर्न सक्दैनन् । त्यस कारणले स्ट्रिट फुड प्वाइजनिङ हुनु भएन । यसलाई सुधार गर्नु अत्यन्तै जरुरी छ । अखबारहरूमा चटपटे, पानीपुरीलगायत प्याक गरेर खाने चलनलाई तुरुन्तै हटाउनुपर्ने देखिन्छ । मालपुवा, सेलरोटीहरू पनि त्यही प्रिन्टेड कागजमा नै पोको पारेर दिने चलन छ । प्रिन्टिङ पेपरमा खानेकुरा प्याक गर्दा प्वाइजनिङ हुने भएकाले त्यसलाई नियन्त्रण गर्नका लागि तुरुन्तै प्रतिबन्ध लगाउनुपर्ने देखिन्छ । यसमा जनचेतना पनि जगाउने र खाद्य ऐन बमाेजिम क्रमशः यस्ता हानिकारक चिजहरूलाई प्रतिबन्ध लगाउन सक्छौँ ।’खाद्य स्वच्छताका लागि ‘स्ट्रिट फुड’ र तरकारी तथा फलफूल बजार अनुगमनको कामलाई अझै तीव्रता दिन लागिएको पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।