राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर जम्मा एक दशमलव ८६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । आज मङ्गलवार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको आर्थिक तथ्याङ्क सार्वजनिक गर्दै कार्यालयले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर जम्मा एक दशमलव ८६ प्रतिशत हुने अनुमान गरेको हाे ।
सरकारले बजेटमा आठ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेकोमा अर्धवार्षिक समीक्षामार्फत सात प्रतिशतमा झारेको छ । तर अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष नेपालको आर्थिक वृद्धि चार दशमलव चार प्रतिशत तथा विश्व बैंक र एसियाली विकास बैंकले चार दशमलव एक प्रतिशत वृद्धिदरको प्रक्षेपण गरेका छन् । उत्पादनमा कमी, आर्थिक चहलपहलमा देखिएको अन्योल, आयातमा कडाइ, उच्च ब्याजदर र कमजोर कर्जा प्रवाहका कारण आर्थिक वृद्धिदरमा कमी आउने देखिएको कार्यालयले जनाएको छ । यस्तै नेपालको अर्थतन्त्रको आकार झन्डै ५४ अर्ब रुपैयाँको पुग्ने अनुमान गरिएकाे छ । कार्यालयले चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको हो । बजार मूल्यका आधारमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब रुपैयाँ र उत्पादन मूल्यका आधारमा ४६ खर्ब ९६ अर्ब रुपैयाँ पुग्ने कार्यालयले जनाएको छ ।