एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण भोलि मंगलबारसम्मका लागि स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । स्थगित खेल आजकै स्थितिबाट खेल सुरु हुनेछ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासका अनुसार भोलि आजकै स्थितिबाट युएईको (१०६/९–२७.३ ओभर) ब्याटिङ सुरु हुनेछ । भोलिको खेल पनि वर्षाले अवरुद्ध भएमा ओभर घटाइनेछ । ओभर घटाएर पनि खेल सम्भव नभए सुपर ओभर हुनेछ । सुपर ओभर पनि सम्भव नभएमा वरीयताको आधारमा च्याम्पियनको टुङ्गो लाग्नेछ । यस्तो अवस्थामा अपराजित रहेको नेपाल प्रतियोगिताको च्याम्पियन हुनेछ भने एसिया कपमा छनोट हुनेछ । एसिया कपमा भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ ।
सोमबार युएईका लागि आसिफ खानले सबैभन्दा बढी ४६ रन जोडे । उनलाई आठौँ विकेटको रूपमा नेपालका ललितनारायण राजवंशीले आरिफ शेखबाट क्याच गराए। लगत्तै ललितले जहूर खानलाई शून्यमा आउट गरे । नेपालका लागि सन्दीप लामिछानेले सातौँ विकेट लिए । उनले युएईका आयन खानलाई ५ रनमा कुशल मल्लबाट क्याच गराए । त्यसअघि गुल्सन झाले युएईका बासिल हामिदलाई १० रनमा बोल्ड गरे ।
युएईका ओपनरद्वय मोहमद वासीम ११ रन र आर्यन लक्रा १३ रनमा आउट भए । वासीमलाई सोमपाल कामी र आर्यनलाई करण केसीले आउट गरे । यस्तै वृत्य अरिवन्द ८ रन र रमिज शाहजाद १ रनमा आउट भए । वृत्यलाई करण र रमिजलाई ललितनारायण राजवंशीले आउट गरे । रोहान मुस्ताफालाई २ रनमा सन्दीप लामिछानेले आउट गरे ।
नेपालका लागि ललितले ३ विकेट लिएका छन् । सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १/१ विकेट लिइसकेका छन् । यो खेलको विजेता एसिया कपमा छनोट हुनेछ भने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ।