शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूको बैठकले संसदीय समितिहरूको टुङ्गो लगाएका छन् । सोमवार सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले संयुक्त संसदीय समिति संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गर्ने गरी टुङ्ग्याएका हुन् ।
बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसदीय सुनुवाइ समितिमा सभापति नेपाली कांग्रेसले गर्ने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सभापति नेकपा एमालेले गर्ने सहमति भएको बताउनुभयो । उहाँले प्रतिनिधि सभामा भएका १० विषयगत समितिमध्ये नेकपा एमालेले लेखा समिति र अर्को एक समितिको सभापति पाउने सहमति भएको पनि बताउनुभयो ।
उहाँले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदबाट नै टुङ्गो लगाउने र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक भने १५ सदस्यीय विशेष समितिमा छलफल गरेरमात्रै टुङ्गो लगाउने सहमति भएको बताउनुभयो । उहाँले संसदीय सुनुवाइ समितिमा नेकपा एमालेले चार जना सदस्य नै पाउने सहमति भएको पनि बताउनुभयो । उहाँले चालु अधिवेशन यही वैशाख १५ गतेसम्म चल्ने पनि बताउनुभयो ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका लागि १५ सदस्यीय विशेष समिति बनाई छलफल गर्ने र अर्को अधिवेशनबाट पास गर्ने सहमति भएको बताउनुभयो । उहाँले चालु संसद् अधिवेशन अब एक/दुई दिनमात्रै चल्ने बताउनुभयो ।
त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदभित्र भएका सबै राजनीतिक दलहरूसँग आपसमा सहमतिका आधारमा नै संसद् सञ्चालन गरेर अघि बढ्ने सहमतिअनुसार शीर्ष दलका नेताहरूबीच सहमति भएको बताउनुभयो । उहाँले सबै दलहरूलाई समेटेर नै विषयगत समितिहरू पनि टुङ्ग्याइएको बताउनुभयो । उहाँले चालु अधिवेशन अब दुई/तीन दिनमात्रै सञ्चालन हुने बताउनुभयो ।