मकवानपुर– मकवानपुरमा राष्ट्रिय कृषि गणना–२०७८ को तयारी सुरु भएको छ । कृषि गणनाका सन्दर्भमा आईतबार सरोकारवालासँग अन्तरकृया गरिएको छ । तथ्याङ्क कार्यालय मकवानपुरले आगामी २०७८ सालमा गरिने राष्ट्रिय कृषि गणना सञ्चालनको तयारी स्वरुप सरोकारवालाहरुसँग अन्तरकृया गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समवन्य समिती मकवानपुरका प्रमुख खुलालले गणनामा तथ्यगत तथ्याङ्क आउनु पर्ने बताउनुभयो । उहाँले कृषि प्रधान मुलुक नेपालमा कृषि गणनाको महत्व हुने हुँदा यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने र सहि तथ्याङ्क आउनु पर्ने बताउनुभयो । राज्यको योजना निर्माणमा तथ्याङ्कको महत्वपूर्ण भुमिका हुने हुँदा सहि तथ्याङ्क संकलन गर्न सुझाव दिनुहुँदै तथ्याङ्क संकलनमा सहयोग गर्न सबै पक्षसंग आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले कृषि जनगणनाले बास्तबिक किसानहरुको संख्या पत्ता लगाउन र त्यसकै आधारमा योजना बनाउन सहज हुने भएकोले यस्को ज्यादै महत्व रहेको बताउनुभयो । उहाँले जिल्लाका सबै स्थानीय तहसंग समन्वय गरेर कार्यक्रम गर्नुपर्ने समेत बताउनुभयो । कार्यक्रममा केन्द्रिय तथ्याङ्क विभागका निर्देशक लिला मिश्रलगायत विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती थियो ।