संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मादीले संघीय निजामती सेवा ऐनको मस्यौदा अन्तिम चरणमा पुगेको बताउनुभएको छ । मन्त्रालयमा आज पत्रकारहरूसँगको भेटमा मन्त्री मोदीले विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिँदै छिटै संसदमा दर्ता गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
उहाँले यसअघि कर्मचारीको उमेर हद ५८ राख्ने कि ६० राख्ने भन्ने विवाद रहेकोमा विधेयकमा अवकाश उमेर हद ६० वर्ष राख्ने तयारी गरिएको बताउनुभयो । मन्त्री मोदीले सुशासन कायम गर्न आफू प्रतिबद्ध रहेको बताउँदै कसैले पैसा लिएको वा घुस लिएको प्रमाणित भए कारबाही गर्न आफू तयार रहेको स्पष्ट पार्नुभयो । उहाँले स्थानीय तहमा निमित्त नराख्ने आफ्नो नीति रहेको भन्दै निमित्त रहेका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने काम भइरहेको पनि जानकारी दिनुभयो । मन्त्री मोदीले कतिपय स्थानीय तहका प्रमुखले प्रमुख प्रशासकीय अधिकृत पठाउँदा रोक्ने गरेको र कहिकतै पदाधिकारीबीचकै विवादका कारण स्थानीय तहमा कर्मचारी खटाउन समस्या रहेको समेत बताउनुभयो ।