मकवानपुर– ३ नम्बर प्रदेशका भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले जनताको नजिकको न्यायलयका रुपमा स्थानिय तहका न्यायिक समितिले काम गर्नुपर्ने बताउनुभएको छ । ३ नम्बर प्रदेशको मुख्य न्यायधिवक्तको कार्यालयद्धारा शुक्रबार हेटौंडामा आयोजित स्थानीय तहमा न्याय सम्पादन सम्वन्धी एक दिवसिय अभिमुखीकरण कार्यक्रमको उद्घाटन् गर्दै मन्त्री लामाले स्थानीय तहका न्यायीक समितिले जनताको न्यायलाई मर्न दिन नहुने वताउनुभएको हो ।
मन्त्री लामाले स्थानीय तहका न्यायिक समितिले निस्वार्थ रुपमा जनतालाई न्याय दिनुपर्ने वताउनुभयो । न्यायीक समितिका पदाधिकारीले सामाजिक उत्तरदायित्व पुरा गर्दै न्याय दिनुपर्ने मन्त्री लामाको भनाई थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जनतासंग प्रत्यक्ष जोडिने कुरामा न्यायिक समिति महत्वपुर्ण भएको भन्दै यसले त्हि अनुसार काम गरेको हुनु पर्छ भन्ने विश्वास व्यक्त गर्नुभयो । नयाँ संरचनामा देश प्रवेश गरेको अवस्थामा न्याय सम्पादन जस्तो महत्वपुर्ण जिम्मेवारी स्थानीय तहलाई भएको भन्दै प्रमुख खुलालले न्यायिक समितिले कसैप्रति पुर्वाग्रह नराखि सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले समुदाय र जनस्तर सम्म पुगेर न्याय दिन न्यायिक समितिका पदाधिकारीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्य न्यायधिवक्ता ओमप्रकाश थपलीयाले स्थानीय तहको वडा स्तर सम्म कानुनी कुराको ज्ञान हुनु पर्ने भन्दै यस विषयमा प्रदेश सरकारले योजना बनाई रहेको बताउनुभयो । उहाँले स्थानीय तहको वडा स्तर सम्म कानुनी अभिमुखिकरणका कार्यक्रम संचालन र सहजीकरणको काम मुख्यन्यायधिवक्ताको कार्यालयले गर्ने वताउनुभयो । कार्यक्रममा न्यायीक समितिको कार्यविधि सम्वन्धी जानकारी, फौजदारी संहिता सम्वन्धी र देवानी संहिता सम्वन्धी जानकारी दिइएको थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाही ठकुरी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा लगायत मकवानपुर र चितवनका न्यायीक समितिका पदाधिकारी तथा कानूनी सहजकर्ताहरुको सहभागिता रहेको थियो ।