निशा गुरुङ/हेटौंडा
नेपालको प्राचीन मार्गका रुपमा रहेको चन्द्रागिरि सडक उत्तरी मकवानपुरको थाहानगरका विकासको द्वार हो । उक्त सडक निर्माण सम्पन्न भए त्यहाँको पर्यटन र कृषिलगायत विकासमा महत्वपूर्ण योगदान पुग्नेमा शंका छैन । तर, देशकै पुरानो त्रिभुवन राजपथको बैकल्पिक बाटोका रुपमा रहेको उक्त मार्ग समयमा बन्न नसक्दा थाहानगरको विकास पछाडि धकेलिएको स्थानीय अगुवा बताउ“छन् । उक्त मार्गमा मकवानपुरतर्फ १४ दशमलव २ किलोमिटर सडकको ठेक्का सम्झौता अनुसार स साना कामबाहेक पिचको काममात्र बाँकी छ ।
काठमाडौंतर्फ ८ दशमलव ३ किलोमिटर खण्डको काम अघि बढ्न नसक्दा स्थानीयले सास्ती खेपिरहेका छन् । त्रिभुवन राजपथ सञ्चालनमा आउनुअघि काठमाडौं उपत्यकाको प्रवेशद्वारका रुपमा उक्त बाटो थियो । साबिक ऐतिहासिक चित्लाङ गाउ“ हाल थाहानगर–९ र १० मा पर्दछ । बाटो मर्मत शुरु भएको ४ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । ‘गणेशमान मार्ग’ नामाकरण गरिएको सडक खण्ड १५ महिनामा निर्माण सम्पन्न गर्ने गरी पीएस किरा“तेश्वर जेभीस“ग चन्द्रागिरिदेखि पानीघाटसम्म सडक स्तरोन्नतिका लागि २०७३ साउन १७ गते सम्झौता भएको थियो ।
सडक विभागअन्तर्गत् चित्लाङ–थानकोट सडक आयोजनाका अनुसार उक्त सडक स्तरोन्नतिका लागि ४ पटक म्याद थप भएको छ । तेस्रो पटक थपिएको म्याद वैशाख १५ गते सकिएको थियो । कोभिड–१९ का कारण काम गर्न समस्या भएकाले निर्माण सम्पन्न हुन नसकेको भन्दै मुख्य सचिवस्तरीय बैठकले ६ महिना म्याद थप गरेको थियो । उक्त अवधिमा पनि खासै काम हुन सकेन । हालसम्म करिब आधामात्र काम सम्पन्न भएको छ । म्याद सकिनै लाग्दा रातारात थानकोट–चन्द्रागिरि सडकखण्डको सेतो पहरा कटिङको काम जारी छ । त्यसका लागि बुधबारदेखि अनिश्चितकालका लागि यातायात बन्द गरिएको चित्लाङ–चन्द्रागिरि थानकोट सडक निर्माण सरोकार समितिले जनाएको छ ।
बाटोको काम समयमै नसक्नुमा एक कारण त्यहाँबाट निस्किने ढुंगा हो । सडक चौडा पार्ने क्रममा निस्किएको ढुंगा बिक्री गर्न बन कार्यालयले छुट्टै बोलपत्र आह्वान गरेको थियो । यसको ठेक्कासमेत पीएस किराँतेश्वरले नै पाएको थियो । त्यहाँ करोडौं मूल्य बराबरको ढुंगा निस्किने आँकलन गरिएको छ । तर, करिब ७५ लाखमा ढुंगा व्यबस्थापन गर्ने जिम्मा निर्माण कम्पनीले पाएको छ । सडक खन्दा उत्खनन् हुने ढुंगा बिक्री गर्न नपाएकाले सडक निर्माणमा समस्या आएको निर्माण कम्पनीले जनाएको छ । ढुंगा व्यबस्थापन गर्न स्थानीयले अवरोध गरेको कम्पनीको दाबी छ ।
चन्द्रागिरि नगरपालिकाले त्यहा“बाट उत्खनन् हुने ढुंगा सोही निर्माण कार्यमा उपयोग गरेर बचेको मात्र बेच्न निर्माण आयोजनालाई पत्र पठाएको थियो । स्थानीयले उत्खनन् भएको ढुंगाबाट बाटोका नाली, पर्खाल र तारजाली भरे बाटो छिटो बन्ने बताएका छन् । प्राकृतिक स्रोतसाधन दोहन गरेर कौडीको भाउमा बेच्ने तयारी भइरहेको भन्दै उनीहरुले विरोध जनाएका छन् ।
करिब ४ वर्षदेखिको ठेक्का १८ महिनामा पूरा गर्नुपर्ने भनिए पनि सडक विभागले हालसम्म कामको सुरसार नगरेको ह“ुदा बुधवारदेखि काम गर्न लागिएको सरोकार समिति सदस्य रामशरण नेपालले बताए । सरोकार समितिमा प्रदेशसभा सदस्य रमा आलेमगरको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको उनले बताए । बागमती प्रदेशको पूर्वाधार विकास मन्त्रालयले यसको निरीक्षण गरिरहेको नेपालले बताए । संघीय सरकारअन्तर्गत् १८ करोड लगानीमा ठेक्का भएको हो ।
थाहानगर–९ का अध्यक्ष परशुराम श्रेष्ठले २०७३ सालमा ठेक्का लिएको ठेकेदारले चासो नदेखाएको दाबी गरेका छन् । ठेकेदारले बाटो खन्दा उत्खनन् भएको ढुंगा बेच्न पाइने भएमात्र काम गर्ने भनेकोले तर स्थानीयले ढुंगा लैजान दिएनन् । बन कार्यालयले भने स्वीकृति दियो ।
ठेकेदारले ढुगांको काममात्र गरिरहेका थिए,’ उनले भने–ठेकेदारले ढुंगामात्र बेच्न खोजेको र सडकको काममा भने पटकपटक म्याद थपेको थपै गरेकोले सरोकार समिति तातेपछि कम्पनीले हाल ‘काम देखाउन खोजेको’ वडा अध्यक्ष श्रेष्ठको दाबी छ ।
२०१८ सालदेखि २०२३ सालसम्म श्रमदान गरेर चित्लाङबासीले मोटर गुड्नेसम्म बनाएको चित्लाङ–चन्द्रागिरि सडक २०७१ सालमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्तरीकरण शुरु गरिएको थियो । एक अर्ब १३ करोड ३६ लाख बजेट अनुमान गरिएकोमा हालसम्म उक्त सडकमा ४५ करोड खर्च भएको सडक आयोजना कार्यालयले जनाएको छ ।
बाटो बन्द हु“दा चित्लाङका स्थानीय बाइरोड र कुलेखानी–फर्पिङ बाटोबाट काठमाडौं आवतजावत गर्न बाध्य छन् । चन्द्रागिरिको बाटो बन्द गरिएपछि स्थानीय उत्पादनले बजार नपाएको स्थानीय राजन बलामीको गुनासो छ ।











