मकवानपुर – मकवानपुरको थाहा नगरपालिका स्थित दामन र सीमभञ्ज्याङ क्षेत्रमा आज बाक्लो हिमपात भएको छ । गए रातिदेखि परेको वर्षासँगै आज बिहानैबाट उक्त क्षेत्रमा बाक्लो हिमपात भईरहेको ईलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । हिमपात भएपछि हिउँ हेर्न र मनोरञ्जन लिन आउने पर्यटकको अहिले उक्त क्षेत्रमा घुइँचो लागेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिनुभयो ।
हिमपातपछि त्रिभुवन राजपथ अवरुद्ध

यसैबीच त्रिभुवन राजपथअन्तर्गत पर्ने मकवानपुर जिल्लाको सीमभञ्ज्याङ र अघोरमा हिउँ पर्नाले हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ । बाक्लो हिउँ परेपछि बिहानै देखि यातायात अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त स्थानमा अहिले हिउँ परिरहेकाले काठमाडौँबाट हेटौँडातर्फ र हेटौँडाबाट काठमाडौँतर्फ जाने विभिन्न सवारीसाधन सञ्चालन गर्दा दुर्घटना हुने सम्भावनाको जोखिम देखिएकाले यातायात सञ्चालनमा रोक लगाएको हो । उहाँले मौसममा सुधार नभएसम्म यातायात सञ्चालन नहुने उहाँले बताउनुभयो ।
चिसोका कारण हेटौंडा र इन्द्रसरोवरमा विद्यालय बन्द

यसै बिच चिसो बढेको भन्दै मकवानपुरको हेटौंडा उपमहानगरपालिका र इन्द्रसरोवर गाउँपालिकाले आज एक दिन विद्यालयको पठनपाठन बन्द गरेको छ । बुधवारदेखि भएको वर्षाले चिसो ह्वात्तै बढेको भन्दै विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै स्थानीय तहले पठनपाठन बन्द गरिएको हो । थप चिसो बढेको अवस्थामा केहि दिन बन्द लम्बिन सक्ने समेत जनाइएको छ ।