आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा अस्ट्रेलियाले भारतलाई ४ सय ४४ रनको लक्ष्य दिएको छ । पहिलो पारीमा १ सय ७३ रनको अग्रता बनाएको अस्ट्रेलियाले दोस्रो पारीमा ८ विकेट गुमाएर २ सय ७० रन बनाउँदा पारी समाप्तिको घोषणा गरेपछि भारतले ४ सय ४४ रनको लक्ष्य पाएको हो ।
दोस्रो पारीमा अस्ट्रेलियाका एलेक्स केइरीले नटआउट सर्वाधिक ६६ रन बनाए । बलिङतर्फ भारतका रविन्द्र जडेजाले ३ तथा मोहम्मद शाही र उमेश यादवले २/२ विकेट लिए । भारतले पछिल्लो १० वर्षदेखि आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन ।
भारतले २०१३ मा इङ्ल्यान्डलाई हराएर आईसीसी च्याम्पियन्स ट्रफी जितेयता आईसीसीका प्रतियोगिताको उपाधि जितेको छैन । भारत पहिलो संस्करणको टेस्ट च्याम्पियनसिपको उपविजेता हो । २०२१ मा भएको फाइनलमा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो ।