वीरगञ्ज । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगन्जसहित मधेस प्रदेशमा गर्ने तयारी भइरहेको बताउनुभएको छ । वीरगन्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा वीरगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री लिम्बुले राष्ट्रिय खेलकुद प्रतियोगिता वीरगन्जसहित मधेस प्रदेशमा आयोजना गर्दा देशभरबाट खेलाडी, प्रशिक्षक र खेलप्रेमी आउने हुनाले व्यापार व्यवसाय पनि चलायमान हुने बताउनुभयो ।
वीरगन्जसहित समग्र मधेसको समृद्धिका लागि खेल क्षेत्रको प्रवर्द्धन गरेर पर्यटन व्यवसायलाई बढावा दिनुपर्नेमा उहाँले जोड दिनुभयो । वीरगन्जको नारायणी रंगशालाको जीर्णोद्धारका लागि आफु गम्भीर भएको बताउँदै उहाँले अर्थमन्त्री र प्रधानमन्त्रीलाई पनि यसबारेमा ध्यानाकर्षण गराई आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले वीरगन्जलाई राज्यले उपेक्षा गरेको भन्दै मधेस प्रदेशबाट दक्ष खेलाडी उत्पादन गर्न सकिने भए पनि राज्यको नजर पर्न नसकेकोप्रति दुखेसो व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य श्याम पटेल, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल, कांग्रेसका क्षेत्रीय सभापति अरविन्द गुप्ता, काँग्रेसका नगर सभापति मणिन्द्रलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । यसैगरी आजै युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले वीरगञ्जस्थित नारायणी रंगशालाको निरीक्षण तथा अनुगमन गर्नुभएको थियो ।