मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार सडक विस्तारको विषयलाई लिएर प्रदर्शन गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत पथलैया–नारायणगढ क्षेत्रमा पर्ने हेटौंडामा बिना मुआब्जा सडक बिस्तार गर्न नदिने भन्दै व्यावसायी र घरधनीले प्रदर्शन गरेका हुन् ।
मकवानपुर उद्योग बाणिज्यसंघ र हेटौंडा बसोबास संरक्षण समितिको आयोजनामा हेटौंडाको मुख्य बजार क्षेत्रका २५ गज भित्र पर्ने घर टहर बिना मुआब्जा भत्काउन नहुने÷नदिने भन्दै व्यावसायी र घरधनिहरुले हेटौँडाको मुख्यचोकमा नारा जुलुस गर्दै प्रदर्शन गरेका हुन् । विरोधसभामा सहभागिहरुले लालपूर्जा भएका घर, जग्गाहरुको क्षेतिपूर्ति दिएर मात्र सडक विस्तार गर्न माग गरेका छन् । उद्योगी व्यावसायी र घरधनीहरुले बिना मुआब्जा घर भत्काए त्यसको प्रतिकारमा उत्रने चेतावनी समेत दिएका छन् ।
विरोधसभामा बोल्दै मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवालले जनतासंग लालपुर्जा रहेको र हरेक वर्ष सरकारलाई कर समेत तिर्दै आएको घरजग्गा बिना क्षतिपूर्ति भत्काउन नपाईने बताउनुभयो । यता डिभिजन सडक कार्यालय हेटौंडाले यही साउन १६ गतेबाट हेटौंडाको रातोमाटेदेखि राप्ती पुलसम्म सडक विस्तार सुरु गर्ने बताएको छ । यसकालागि जेसिबि, डोजर र अन्य हेबी उपकरण तयारी अवस्थामा रहेको बताइसकेको छ । सडक कार्यालयले केही दिन अघि क्षेत्राधिकार भित्र पर्ने हेटौँडा–१५ रातोमाटेको वडा कार्यालय र जनजागृती माविको पर्खाल र त्यहाँ बनेको संरचना समेत भत्काइसकेको छ । सडक कार्यालयको ३५ दिने सुचना यहि साउन १५ गते सकिदैछ ।