हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने वडा नम्बर ४ का वडाअध्यक्ष नवीन सिग्देलले वडालाई  सुरक्षित, सफा र व्यवस्थित सहरका रूपमा विकास गर्न लागिपरेको बताउनुभएको छ ।
हेटौंडा-४,स्थित मित्र नगर टोल विकास संस्थाको २०औँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष सिग्देलले सडक, पेटी, ढल व्यवस्थापनदेखि हरियाली, सफाइ, उज्यालो र सुन्दरताको अभियानलाई योजनाबद्ध रूपमा अघि बढाइरहेको जानकारी दिनुभयो ।
अध्यक्ष सिग्देलका अनुसार वडामा रहेको लोकतान्त्रिक चौर (हुप्र) प्रदेश राजधानीकै प्रतीक भएकाले त्यस क्षेत्रलाई थप सफा, सुरक्षित र आकर्षक बनाउन विशेष ध्यान दिइएको छ। “हुप्र क्षेत्र पूर्ण रूपमा उज्यालो बनाउने र वरिपरि व्यवस्थित सडक निर्माण गर्ने काम छिट्टै पूरा हुनेछ,” सिग्देलले भन्नुभयो ।
मित्र नगर टोल विकास संस्थाका अध्यक्ष सुमित्रा श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, टोल विकास नगर समन्वय समितिका महासचिव शिवहरी दाहाललगायतको विशेष उपस्थिति रहेको थियो । साधारणसभाले पुनः सुमित्रा श्रेष्ठकै नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ ।