मकवानपुर – मकवानपुरमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा आज बसेको कोभिड संकट ब्यवस्थापन समितिको बैठकले जिल्लाभित्र संक्रमणको जोखिम यथावत नै रहेको भन्दै जेठ ३१ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।
कोभिड–१९ संक्रमणको जोखिम यथावत नै रहेको हुँदा उक्त सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको सिफारीसमा संक्रामक रोग ऐन, २०२० को दफा २, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्लामा मिति २०७८/०२/२० गते राति १२ बजेबाट २०७८/०२/३१ गते राती १२ बजेसम्मसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो ।
वैशाख १९ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ ३१ गतेसम्म पु¥याइएको छ । यसअघि जिल्लामा पहिलो पटक बैषाख १९ गते देखि बैशाख ३१ गतेसम्म जारी निषेधाज्ञा जेष्ठ १ गते देखि जेष्ठ १३ गतेसम्म र जेष्ठ १३ गते देखि जेष्ठ २० गतेसम्मका थप गरिएको थियो । बैठकले अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्न लगायतका पसलहरु विहान ५ बजे देखि ८ बजेसम्म संचालन गर्न दिने निर्णय गरेको छ । यस्तै बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साताको ३ दिन आइतबार, मंगलबार र विहिबार विहान १० बजेदेखि २ बजेसम्म बैंक संचालन गर्न दिने र अन्य वित्तीय संघ संस्था तथा सहकारीहरु भने पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ ।