हेटाैंडा – नेपालमा आज थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १९ हजार ८६९ जनाको नमूना परीक्षण गर्दा थप ६ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा १३ हजार ७९१ नमूनाको पीसीआर र ६ हजार ७८ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ४ हजार ८०७ जना र एन्टिजेन परीक्षणबाट २ हजार २० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, गत २४ घण्टाको अवधिमा ५ हजार ४३२ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका छन् । गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ । मन्त्रालयका अनुसार देशभर हाल ८९ हजार ९४१ जना सक्रिय संक्रमित छन् ।