काठमाडौं– नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वापतको ५३ लाख रुपैयाँ भन्दा बढी चोरी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयका सचिव सरिता राउतसमेत ३ जना विरुद्ध ५३ लाख १ हजार ८५६ रुपैयाँ बिगो कायम गर्दै शुक्रबार बिशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
अख्तियारले वडासचिव रावतसहित करारका सहायक वडासचिव रामकुमार गिरी र कार्यालय सहयोगी निलप्रसाद मिश्रविरुद्ध मुद्दा दायर गरेको हो । २४ चैत २०७७ मा हिमालयन बैंकको त्रिशुली शाखाबाट झिकेको सामाजिक सुरक्षा भत्ताअन्तर्गतको ५० लाख रुपैयाँसहितको ५३ लाख रकम हराएको थियो ।वडासचिव राउत सहितले उक्त रकम चोरी भएको बताउँदै आएका थिए। स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरेर कुनै तथ्य फेला नपारेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले समेत अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धान निष्कर्षमा नपुगेपनि अख्तियारले भने रकम हराएको (चोरी भएको) घटनामा वडासचिव राउतसहित ३ जनाको भूमिका शंकास्पद देखिएकाले उनीहरुको संलग्नता रहेको निष्कर्षसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
अख्तियारले तीनै जनाविरुद्ध ५३ लाख १ हजार ८५६ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ। उनीहरुमाथि भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा (१) र उपदफा (१) को देहाय (ज) बमोजिम अधिकत्तम (८ वर्षसम्म कैद) सजाय मागदाबी गरेको छ।