मकवानपुर– बागमती प्रदेशमा हालसम्म मकवानपुरमा ९७ जना सहित १ हजार ९ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्याङक अनुसार प्रदेशभर १ हजार ९ सय ९७ जनामा कोरोना पुष्टि भएको छ । विश्व महामारीको रुपमा फैलीएको कोभिड–१९ बाट हालसम्म नेपालमा २३ हजार ९४८ जना संक्रमित भएको अवस्थामा ८३ जनाले ज्यान गुमाइसकेका छन्, । जसमध्ये बागमती प्रदेशमा मात्रै १५ जनाको ज्यान गएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।
मंगलबारको तथ्याङकमा हाल सम्म काठमाडौंमा १ हजार ५९ जना, ललितपुरमा १ सय ५८ जना, भक्तपुरमा ९५ जना, रसुवामा १२ जना, नुवाकोटमा ६४ जना, धादिङमा १ सय ५७ जना, चितवनमा १ सय ४० जना, सिन्धुलीमा ३५ जना, रामेछापमा ४७ जना, दोलखामा १६ जना, काभ्रेमा ३८ जना, सिन्धुपाल्चोकमा ७९ र मकवानपुरमा ९७ जना गरी कुल १ हजार ९ सय ९७ जना संक्रमित भेटिएको डा सेढाईले जानकारी दिनुभयो । संक्रमित मध्ये ७४ प्रतिशत पुरुष र २६ प्रतिशत महिला रहेका छन्, । बागमती प्रदेशमा हाल सम्म कोरोनालाई जितेर ६ सय १८ जना निको भई डिस्चार्ज भएको उहाँले बताउनुभयो ।
मंगलबार हेटौंडाका १३ जनामा कोरोना पुष्टि
हेटौंडामा मंगलबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार साउन २६ गते भएको परीक्षणमा ९ पुरूष र ४ महिला गरी १३ जनामा कोरोना पुष्टि भएको हो । मंगलबार संक्रमण पुष्टि हुनेमा हेटौंडा–१० का ६०, ५०, ३७ र उमेर नखुलेका ४ जना पुरूष, हेटौंडा–५ का २२ र २३ वर्षिया २ महिला तथा ४४ र ४८ वर्षिया २ पुरूष, हेटौंडा–१ का ४३ बर्षीया महिला, हेटौंडा–४ का उमेर नखुलेका एक महिला र ४५ एक पुरूष, र हेटौंडा–१३ का २७ र ३५ वर्षिय २ पुरूष रहेका छन् ।
बुधबार ८४ को स्वाब संकलन
हेटौंडामा बुधबार मात्रै ८४ जनाको स्वाब संकलन गरिएको छ । पिसिआर विधिबाट कोरोना परीक्षणका लागि ८४ जनाको स्वाब संकलन भएको हो । हेटौंडा आईसोलेसन वार्ड इन्चार्ज भोलाप्रसाद चौलागाईले बुधबार बिहान यसअघि संक्रमण देखिएकाको कन्ट्याक्ट ट्रेसिङ, शंकास्पद र अन्य गरी ८४ जनाको स्वाब संकलन गरिएको जानकारी दिनुभयो । संकलित स्वाब परीक्षणका लागि हेटौंडा–१० स्थित कोरोना परीक्षण प्रयोगशालामा पठाईएको छ ।
२ सय २४ जनाको रिपोर्ट आउन बाँकी
प्रयोगशालामा कोरोना संक्रमण परीक्षणका लागि स्वाब संकलन गराएका २ सय २४ जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले बताउनुभयो । हेटौंडा आइसोलेसन वार्डमा पुगेर स्वाब संकलन गराएका २ सय २४ जनाको रिपोर्ट आउन बाँकी रहेको हो । सोमबार संकलन गराएका ९५ र मंगलबार संकलन गराएका १ सय २९ जनाको रिपोर्ट आउन बाँकी रहेको चौलागाईंले बताउनुभयो । हेटौंडास्थित प्रयोगशालामा प्रदेश २ को बारा, पर्सा, रौतहटसम्मको स्वाब परीक्षण गर्नु पर्दा हेटौंडाको स्वाब परीक्षणमा ढिलाइ भइरहेको छ ।