file photo

मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरले “अन्तरपालिका जिल्ला स्तरीय फुटबल प्रतियोगिता” आयोजना गर्ने निर्णय गरेको छ । आईतबार बसेको ८४औं बोर्ड बैठकले जिसस मकवानपुरको आयोजना एवम् जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनामा आगामी मंसिर १८ देखि २५ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बोर्ड बैठकले जिल्लाका १० वटै स्थानिय तहहरुको सहभागिता हुने गरि प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । जिससले गत वर्ष प्रतियोगिता आयोजना गर्ने तयारी गरेकोमा अन्तिम अवस्थामा आएर कोभिडका कारण स्थगित भएको थियो । स्थानीय स्तरमा फुटबलको विकास गर्ने, नयाँँ खेलाडि उत्पादन गर्ने तथा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडि छनोट गर्न समेत मद्धत पुग्ने उदेश्यका साथ जिल्ला स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको प्रमुख खुलालले बताउनुभयो ।
करिब ७ लाख ५८ हजार लागत अनुमान गरिएको प्रतियोगितामा बिजेताले नगद २ लाख र उपविजेताले १ लाखसहित शील्ड, मेडल तथा प्रमाणपत्र तथा विभिन्न विधागत रुपमा समेत पुरस्कारको व्यवस्था गरिएको छ । आगामी १५ गतेसम्म जिल्ला खेलकुद विकास समितिमा स्थानीय तहको सिफारीस सहितको टिम दर्ता गराईक्नु पर्ने नकआउट फुटबल प्रतियोगितामा आफ्ना खेलाडीहरूकाे सम्पुर्ण व्यवस्थापन सम्बन्धीत स्थानीय तहले गर्नुपर्ने छ । यस्तै बैठकले आगामी नोवेम्बर २५ बाट सुरु हुने महिला हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा अन्तरकृया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले १६ दिने अभियानमा अन्तरक्रियाको ब्यवस्थापन तथा संचालन गर्ने जिम्मा जिसस उपप्रमुख भगवती पुडासैनीलाई दिने निर्णय गरेको छ । बैठकमा जिसस सदस्यहरु देवराज रिमाल, सिता अधिकारी, सरिता विक, बुद्धिबहादुर मोक्तान, समन्वय अधिकारी आनन्दराज पोखरेललगायत कार्यालयका अन्य कर्मचारीहरुको उपस्थिती थियो ।