हेटौँडा – मंसिर १० गते देखि १२ गतेसम्म चितवनको नारायणगढमा हुने नेकपा (एमाले) को १० औँ राष्ट्र्रिय महाधिवेशनको उद्घाटन सत्रको लागि मकवानपुरबाट २ हजार मोटरसाईकल, ५ सय सानो सबारी तथा २ सय वटा बस सहतिको र्याली मकवानपुरबाट लगिने भएको छ । महाधिवेशनको लागि एमाले मकवानपुरले निर्माण गरेको प्रचार समितिले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचार समितिका संयोजक नविन सिग्देलले मकवानपुरबाट ब्यापक जनसहभागिता रहने बताउनुभयो ।
महाधिवेशनको प्रचारको लागि एमाले मकवानपुरको विभिन्न भातृ संगठन तथा पार्टी कमिटिले मकवानपुरको रातोमाटेबाट मनहरीसम्म दुई दर्जन भन्दा धेरै स्वागत गेट निर्माण गर्ने, हेटौँडामा डिजिटल डिसप्ले मार्फत प्रचार गर्ने, तुल, ब्यानर र झण्डाले हेटौँडा क्षेत्रलाई सिंगार्ने काम हुने सिग्देलले बताउनुभयो । महाधिवेशनको लागि मकवानपुरको सबै स्थानीय तहमा जनपरिचालन समिति निर्माण गरिएको र सबै स्थानीय तहले महाधिवेशनको उद्घाटन सत्रमा हजारौ जनसहभागिता गराउने तयारी भैरहेको उहाँको भनाई थियो ।
जनपरिचालनको लागि जिल्ला स्तरबाट एमाले मकवानपुरका अध्यक्ष बद्री लम्साल संयोजक र एकालाल श्रेष्ठ सचिव रहेको जनपरिचालन समिति समेत निर्माण गरिसकेको छ । मकवानपुरबाट विभिन्न भेषभुसा सहितको सास्कृतिक झाकिको लागि पनि समिति निर्माण भएको छ । छिमेकी जिल्लामा हुने महाधिवेशनलाई भब्य बनाउनको लागि एमालेको सबै निकायहरु लागि परेकेो बताउँदै उनले महाधिवेशनलको प्रचारको लागि मंसिर ७ गते हेटौँडामा बृहत्त मोटरसाईकल र्यालीको आयोजना समेत हुने बताए । पत्रकार सम्मेलनमा बोल्दै एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले महाधिवेशनलाई भब्य बनाउनको लागि आफुहरुले कुनैपनि कसर बाँकी नराख्ने जनाए । जनपरिचालनको हिसाबले छिमेकी जिल्लामा हुने महाधिवेशन थप महत्वपूर्ण भएको भन्दै उनले आफुरुले तयारीलाई ब्यापक बनाएको समेत उनको भनाई छ ।