मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुर र मकवानपुरगढी गाउँपालिकाकाे लगानीमा मकवानपुरगढी गाउँपालिका–३, टावरडाँडामा निर्मित खानेपानी आयोजना उद्घाटन गरिएको छ । जिससकाे मौजदात कोषबाट ७५ र मकवानपुरगढी गाउँपालिकाकाे २५ प्रतिशत लागत साझेदारीमा निर्माण भएको खानेपानी आयोजनाको सोमबार जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले उद्घाटन गर्नुभएको हो ।

खानेपानी आयोजनाको उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले खानेपानीको निकै नै कठिन अवस्था रहेको उक्त स्थानमा अब समस्या नहुने बताउनुभयो । उहाँले गढी गाउँपालिकामा खानेपानीको निकै समस्या रहेको भन्दै सोहि अनुरुप जिससले पनि उक्त स्थानलाई प्राथमिक्तामा राखेर बजेट बिनियोजना गरेको भन्नु हुँदै गाउँपालिकामा अन्य आयोजनाहरु समेत सञ्चालनमा आएपछि खानेपानीको समस्या समाधान हुदै जाने बताउनुभयो ।

No description available.

प्रमुख खुलालले गाउँपालिकाले आवश्यक्ताको आधारमा व्यवस्थित आयोजनाहरु सञ्चालन गरेको भन्नुहुँदै विकासका लागि स्थानीयवासीको सकृयता आवश्यक रहेको समेत बताउनुभयो ।

जिससको मौजदात कोष सचालन कार्यविधि अनुसार ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत गरि कुल एक करोड ६ लाख लागतमा निर्माण भएको उक्त आयोजनामा ६० लाख जिससको र ४६ लाख गाउँपालिकाको लागत रहेको छ । १७ सय मिटर टाढाबाट लिफ्टीङ सिस्टमबाट टाबरडाँडामा दुईलाख ४० हजारको ट्याङकीमा संकलन गरेर २१६ परिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराईएको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो ।

जिससको सहयोगमा उक्त क्षेत्रको खानेपानीको समस्या समाधान भएको अध्यक्ष हुमागाईले बताउनुभयो । उहाँले बितेको ५ वर्षमा गाउँपालिकामा विकासको एउटा आधार तयार भएको बताउनुहुँदै उहाँले यसलाई निरन्तरता दिन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा ३ नम्बर वडा अध्यक्ष भागवत घिमिरेले व्यवसयिक रुपमा अगाडी बढ्न उक्त आयोजनाले मद्त पुग्ने विश्वास व्यक्त गर्नुभयो । कृषि तथा पशुपालको पकेट क्षेत्रका रुपामा अगाडी बढेको उक्त क्षेत्रका लागि खानेपानी आयोजना महत्वपूर्ण रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा टाबरडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष शत्रुधन दुलालले खानेपानी सञ्चालनमा आएपछि घण्टौं हिडेर खानेपानी ल्याउनु पर्ने समस्या समाधान भएको बताउनुभयो । कार्यक्रममा खानेपानीको ट्याङ्कि निर्माणका लागि जग्गा दान गर्नुहुने विश्वनाथ रिमाल र रमणि प्रसाद घिमिरेलाई सम्मन समेत गरिएको थियो । उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथी, अतिथीलगायतले दोसल्ला र प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो । टाबरडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका दुलालकै अध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर वडाका जनप्रतिनिधिहरु, टोल विकासका अध्यक्षहरु, जग्गादाताहरु, विभिन्न सहकारीका अध्यक्षहरुलगायत स्थानीय उपभोक्ताको सहभागिता थियो ।