देशको आर्थिक क्रियाकलापमा सुस्तता आएको देखिएको छ भने आर्थिक वृद्धिदर कोरोना महामारीको वेलाकाे भन्दा पनि खुम्चिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादनको तथ्याङ्कले आर्थिक वृद्धिदर विगत वर्षहरूको तुलनामा खस्किएको देखाएको हो ।
आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमास (साउन-असोज)मा आर्थिक वृद्धिदर ०.८ प्रतिशतमा सीमित भएको छ । यो बितेको आर्थिक वर्षको यही समयमा तीन प्रतिशत थियो । कोभिड-१९ महामारीको प्रभाव तीव्र भएको आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासिकमा समेत आर्थिक वृद्धिदर ०.९ प्रतिशत थियो । यो वर्षको पहिलो त्रैमासिकमा आर्थिक वृद्धिदर महामारीको वर्षभन्दा पनि तल खस्किएको हो । यो वर्ष बजेटले आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो । तर, अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा मार्फत अपेक्षित आर्थिक वृद्धिदर हासिल नहुने बताइसकेको छ ।
यो वर्षको पहिलो त्रैमासिकमा कुन क्षेत्रको आर्थिक वृद्धिदर कति?
आर्थिक वृद्धिदर न्यून हुनुले अर्थतन्त्रको उत्पादक क्षमताको विस्तार नभएको र आर्थिक क्रियाकलाप पर्याप्त चलायमान नभएको बुझाउँछ । पछिल्ला महीनाहरूमा वित्तीय क्षेत्रको सङ्कटले अर्थतन्त्रको माग र आपूर्तिको शृङ्खलालाई प्रभावित पारेको व्यवसायीले बताउँदै आएका छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार, यस वर्षको पहिलो त्रैमासिकमा सबैभन्दा बढी खानी तथा खनिज क्षेत्रको उत्पादन खस्किएको देखिएको छ । पहिलो त्रैमासमा खानी र खनिज क्षेत्रको उत्पादन २९.२ प्रतिशतले घटेको छ। गत वर्षको यही अवधिमा यो क्षेत्र २४ प्रतिशतले बढेको थियो । खासगरी, निर्माण सामग्री सिमेन्टको मागमा अत्यधिक कमीका कारण यो क्षेत्र ओरालो लागेको हो ।
देशमा निर्माणजन्य गतिविधि सुस्ताएका कारण सिमेन्ट, डन्डी लगायत निर्माण सामग्रीको माग घटेको छ । सार्वजनिक निर्माणमा कमी र निजी घर निर्माणको गति पनि सुस्त भएकाले यस्ता सामग्रीको खपत घटेको हो । तथ्याङ्कले निर्माण क्षेत्र २४ प्रतिशत घटेको देखाएको छ । गत वर्षको यही अवधिमा निर्माण क्षेत्र १८ प्रतिशतले बढेको थियो ।
थोक र खुद्रा व्यापार तीन प्रतिशतले ओरालो लागेको छ। यसले बजारमा वस्तु र सेवाको माग घटेको देखाउँछ । अर्थतन्त्रमा यो क्षेत्रको हिस्सा करीब १४ प्रतिशत छ। घरजग्गा क्षेत्रको वृद्धि २.२ प्रतिशत छ । गत वर्ष यही अवधिमा यो क्षेत्र ३.८ प्रतिशत बढेको थियो । यद्यपि, गत वर्षको पहिलो त्रैमासिकमा ४.५ प्रतिशतले घटेको होटल र रेस्टुरेन्ट सेवा यो वर्षको पहिलो त्रैमासमा ४५.८ प्रतिशतले बढेको छ । महामारीको प्रभाव मत्थर भएर पर्यटन क्रियाकलाप सञ्चालनसँगै यो क्षेत्र चलायमान बनेको हो ।
केन्द्रीय तथ्याङ्क विभागले हरेक त्रैमासिकको आर्थिक क्रियाकलापका आधारमा त्रैमासिक कुल गार्हस्थ्य उत्पादनको विवरण प्रकाशित गर्छ । यद्यपि, यो तथ्याङ्क मौसमी रूपमा असमायोजित हो । वर्षभरि उत्पादन हुने वस्तु र सेवा मौसम र समय अनुसार फरक पर्ने भएकाले कुनै एक त्रैमासिकको तथ्याङ्कको आधारमा वार्षिक आर्थिक वृद्धिदर अनुमान गर्न मिल्दैन । हिमालखबरबाट