हेटाैंडा । चर्चित लोक गायिका बबिता बानियाँ जेरी र लोक गायक प्रदीप रोक्काले हेटौंडामा लाइभ दोहोरी प्रश्तुत गरेका छन् । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडाको टिसिएन चौरमा जारी महोत्सव अन्तर्गत शनिबार उनीहरुको प्रश्तुती रहेको थियो ।

लोक गायनको क्षेत्रमा चर्चित यी जोडीको प्रश्तुतीमा दर्शकहरुले नाचेर साथ दिएका थिए । अन्य दिनको तुलनामा शनिबार दर्शकको बाक्लो उपस्थिती रहेको थियो । शनिबारै चर्चित गायिका रचना रिमाल, कमल के क्षेत्री र सुमन नेपाली ब्याण्डको लाइभ प्रश्तुती रहेको थियो । गायिका रिमालले आफ्ना निकै चर्चित गीतहरु प्रश्तुत गरेकी थिइन् ।
१७ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारले सांगीतिक प्रश्तुती दिइरहेका छन् । महोत्सवमा आइतबार गायिका राधिका हमाल, गायक उर्गेन दोङ, कमल खत्री, एन्जिला रेग्मी र द शिल्ड ब्याण्डको प्रश्तुती रहने छ ।
महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल समेत भैरहेको छ । महोत्सव आयोजक समितिका संयोजक समेत रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले खेलकुद क्षेत्रको विकासका लागि आयोजित महोत्सव सफलतापूर्वक सञ्चालन भैरहेको जानकारी दिए ।
महोत्सवमा करिब २६० वटा स्टल रहेको छ । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यान रहेको छ । वर्षभर विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि रकमको जोहो गर्ने उद्देश्यले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गरिएको उनले बताए ।
Ganesh Darpan